तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पको हत्या गर्नेलाई इरानमा १ करोड अमेरिकी डलर इनाम घोषणा गरिएको दाबी गरिएको भिडियो सार्वजनिक भएपछि अमेरिका–इरान तनाव थप चर्किएको छ ।
इरानको सरकारी टेलिभिजनअन्तर्गत इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)सँग सम्बन्धित च्यानल–३ बाट उक्त भिडियो प्रसारण भएको जनाइएको छ । भिडियोमा २० वर्षीय ब्यारोन ट्रम्पलाई लक्षित गर्दै उनको सुरक्षा व्यवस्था, सम्भावित ठेगाना र दैनिक गतिविधिबारे ग्राफिक्समार्फत विवरण प्रस्तुत गरिएको दाबी गरिएको छ ।
अमेरिकी सुरक्षा निकायले उक्त धम्कीलाई गम्भीर रूपमा लिएको बताइएको छ । ट्रम्प परिवारलाई इरानबाट यसअघि पनि धम्की आउने गरेको उल्लेख गरिएको छ । यद्यपि, ब्यारोन ट्रम्पको हत्याका लागि १ करोड डलर इनाम घोषणा गरिएको विषय इरान सरकारको औपचारिक नीति वा निर्णय भएको स्वतन्त्र पुष्टि भने भएको छैन ।
इरानमाथि अमेरिकाको थप आर्थिक प्रतिबन्ध
यसैबीच, अमेरिका–इरान तनाव थप बढ्दै गएको छ । अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले इरानमाथि नयाँ प्रतिबन्ध घोषणा गर्दै तेहरानमा पुग्ने प्रमुख आर्थिक तथा वित्तीय सहयोगका बाटा बन्द गर्ने उद्देश्य रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सहयोगी राष्ट्रहरूलाई पनि नयाँ प्रतिबन्धमा सहभागी हुन आग्रह गरेका छन् ।
अमेरिकाको नयाँ कदमप्रति इरानले कडा प्रतिक्रिया जनाएको छ । इरानी सरकारकी प्रवक्ता फातेमा मोहाजेरानीले आर्थिक कठिनाइका बाबजुद राष्ट्रपति तथा देशको नेतृत्वले परिस्थितिको सामना गर्ने बताएकी छन् ।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानविरुद्ध सैन्य कारबाहीको सम्भावना पूर्ण रूपमा अस्वीकार नगरिएको बताएका छन् । उनले स्ट्रेट अफ होर्मुजसहित मध्यपूर्वका अन्य क्षेत्रमा आवश्यक परे सैन्य शक्ति प्रयोग गर्न अमेरिका पछि नहट्ने संकेत गरेका छन् ।
होर्मुज बन्द गर्ने इरानको चेतावनी
इरानका सुरक्षा प्रमुख मोहसेन रेजाइले अमेरिकाले आर्थिक दबाबको अभियान जारी राखेमा खाडी क्षेत्रबाट हुने तेल निर्यात रोक्न सकिने चेतावनी दिएका छन् । उनका अनुसार इरानमाथि अमेरिकी प्रतिबन्धलाई समर्थन गर्ने कुनै पनि देशलाई इरानविरुद्धको युद्धमा सहभागी भएको रूपमा लिइनेछ ।
यसैबीच, ओमानको उत्तरपूर्वी समुद्री क्षेत्रमा एउटा तेल ट्यांकर अज्ञात प्रक्षेप्यास्त्र वा वस्तुको प्रहारबाट क्षतिग्रस्त भएको खबर आएको छ । बेलायती समुद्री व्यापार सञ्चालन निकायका अनुसार घटना ओमानको अश शिशाहबाट करिब ९ समुद्री माइल उत्तरपूर्वमा भएको हो । जहाजका चालक दल भने सुरक्षित रहेको बताइएको छ ।
तनाव कम गर्ने प्रयासस्वरूप ओमानका विदेशमन्त्री सय्यद बद्र अल–बुसैदी मंगलबार तेहरान जाने भएका छन् । उनले इरानी अधिकारीसँग स्ट्रेट अफ होर्मुजको अवस्था तथा क्षेत्रीय तनावका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ ।
मानवीय सहायता बोकेका जहाजलाई बाटो
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानी बन्दरगाहतर्फ मानवीय सहायता बोकेर गएका ४० भन्दा बढी जहाजलाई अमेरिकी नौसैनिक नाकाबन्दी पार गर्न अनुमति दिइएको छ ।
यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पाकिस्तानका सेनाप्रमुख फिल्ड मार्सल असिम मुनीरसँगको भेटमा अमेरिकाले इरानप्रतिको भाषा र व्यवहार सुधार्नुपर्ने बताएका छन् । दबाब र धम्कीको नीतिले समस्या समाधान गर्नुको सट्टा थप जटिल बनाउने उनको भनाइ छ ।
इरानी इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सका प्रवक्ता होसेन मोहिबीले इरानको पूर्वाधारमाथि आक्रमण भए अमेरिकी ऊर्जा आपूर्ति मार्ग र महत्वपूर्ण रणनीतिक स्वार्थमाथि ठूलो स्तरको आक्रमण हुन सक्ने चेतावनी दिएका छन् ।
उता, गाजामा पनि हिंसा जारी रहेको जनाइएको छ । सोमबार इजरायली हवाई आक्रमणमा कम्तीमा आठ प्यालेस्टिनीको मृत्यु भएको बताइएको छ, जसमा दुई बालबालिका पनि छन् ।
अमेरिकाको नयाँ आर्थिक प्रतिबन्ध, स्ट्रेट अफ होर्मुजमा बढ्दो तनाव तथा दुवै पक्षबाट आएका सैन्य चेतावनीका कारण अमेरिका–इरान द्वन्द्व थप गम्भीर बन्ने जोखिम बढेको छ ।
प्रशान्त महासागरमा लागुऔषध तस्करीविरुद्ध अमेरिकी कारबाही
यसैबीच, अमेरिकी सेनाले पूर्वी प्रशान्त महासागरमा लागुऔषध तस्करीमा संलग्न भएको आरोप लागेको एउटा पोतमाथि हमला गरेको छ । सोमबार गरिएको उक्त कारबाहीमा दुई जना मारिएको अमेरिकी पक्षले जनाएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डअन्तर्गतको क्षेत्रीय कमान्डले घटनालाई ‘घातक काइनेटिक स्ट्राइक’ भनेको छ । करिब दुई महिनापछि यस प्रकारको हमला सार्वजनिक भएको यो पहिलो घटना भएको जनाइएको छ ।
अमेरिकी प्रशासनले पछिल्लो करिब एक वर्षदेखि सञ्चालन गर्दै आएको अभियानअन्तर्गत ६० भन्दा बढी यस्ता हमला भएको र २१० भन्दा बढी मानिस मारिएको विवरण सार्वजनिक गरेको छ । अमेरिकी सेनाले ती कारबाहीलाई लागुऔषध तस्करी र ‘नार्को–आतंकवाद’विरुद्धको अभियानका रूपमा प्रस्तुत गर्दै आएको छ ।
तर पछिल्लो घटनामा हमला गरिएको पोतमा लागुऔषध रहेको प्रमाण अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले सार्वजनिक गरेको छैन । अमेरिकी जनरल फ्रान्सिस डोनोभानले लागुऔषध तस्करीमा संलग्न समूहविरुद्ध कारबाही जारी राख्ने बताएका छन् ।
ट्रम्प प्रशासनले ल्याटिन अमेरिकी देशहरूमा यस्ता कारबाही विस्तार गर्न विभिन्न सरकारसँग सहकार्य र सम्झौताको प्रयास गरिरहेको छ । यद्यपि, आलोचकहरूले अमेरिकी सेनाका यस्ता हमलाको कानुनी आधार र प्रभावकारितामाथि प्रश्न उठाउँदै आएका छन् ।
पेन्टागनका महानिरीक्षकले यस्ता कारबाहीमा लक्ष्य छनोट गर्ने प्रक्रियासम्बन्धी ढाँचाको समीक्षा तथा अनुसन्धान गर्ने भएका छन् ।


