Saturday, June 6, 2026
Homeसामाचारबिम्स्टेक दिवसमा प्रधानमन्त्री शाहको जोड : क्षेत्रीय सहकार्य, सम्पर्क विस्तार र साझा...

बिम्स्टेक दिवसमा प्रधानमन्त्री शाहको जोड : क्षेत्रीय सहकार्य, सम्पर्क विस्तार र साझा समृद्धिमा नेपाल प्रतिबद्ध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि स्थापित बिम्स्टेकलाई क्षेत्रीय सहकार्यको प्रभावकारी र गतिशील मञ्चका रूपमा व्याख्या गर्दै सदस्य राष्ट्रहरूबीच थप सहकार्य र सम्पर्क विस्तारको आवश्यकता औंल्याएका छन्।

बिम्स्टेकको २९औँ वार्षिकोत्सवका अवसरमा जारी शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले क्षेत्रीय विविधता, साझा सम्भावना र आर्थिक सहकार्यलाई अझ सशक्त बनाउन यातायात, व्यापार तथा डिजिटल सम्पर्क सञ्जाललाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

प्रधानमन्त्री शाहले बिम्स्टेकको वास्तविक शक्ति जनस्तरको सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै पर्यटन प्रवर्द्धन, युवा र उद्यमशीलतालाई प्रोत्साहन, जलवायु परिवर्तन तथा प्राकृतिक विपद्का चुनौती सामना गर्न सदस्य राष्ट्रहरूबीच थप सहकार्य आवश्यक रहेको बताएका छन्।

उनले परस्पर जोडिएको, उत्थानशील र समृद्ध बिम्स्टेक क्षेत्र निर्माणका लागि नेपाल सदस्य राष्ट्रहरूसँग सहकार्य गर्न निरन्तर प्रतिबद्ध रहेको सन्देशमार्फत बताएका छन्।

यसैबीच, परराष्ट्रमन्त्री शिशिर खनालले पनि बिम्स्टेक स्थापनापछि हासिल भएका उपलब्धिको प्रशंसा गर्दै क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउन संस्थागत संरचना र कार्यान्वयन क्षमतामा सुधार आवश्यक रहेको बताएका छन्।

उनले पर्यटन, सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्ध विस्तारमा नेपालले नेतृत्वदायी भूमिका खेल्न तयार रहेको उल्लेख गर्दै क्षेत्रीय साझेदारीलाई थप मजबुत बनाउनुपर्ने धारणा राखेका छन्।

सन् १९९७ मा बैंकक घोषणापत्रमार्फत स्थापना भएको बिम्स्टेक अहिले सात सदस्य राष्ट्र सम्मिलित क्षेत्रीय संगठनका रूपमा विकसित भएको छ। नेपाल सन् २००४ मा यस संगठनमा आबद्ध भएको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका