Wednesday, July 1, 2026
Homeराजनीतिप्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक र कानूनी प्रावधानलाई व्यावहारिक...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक र कानूनी प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गरौँ : अध्यक्ष दाहाल

काठमाडौं: राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक र कानुनी प्रावधानको व्यावहारिक कार्यान्वयनमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनु भएको छ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले स्वदेश तथा विदेशमा क्रियाशील सम्पूर्ण पत्रकार, सञ्चार माध्यम, पत्रकारिता क्षेत्रसँग सम्बन्धित संघसंस्था तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिने सबैमा शुभकामना व्यक्त गर्नुभएको हो।

विभिन्न समयमा प्रेस स्वतन्त्रताका लागि संघर्ष गर्दै प्राण गुमाएका पत्रकार सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले प्रेस स्वतन्त्रता दिवसले राज्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, पत्रकारहरूलाई सत्य, निष्पक्ष, नैतिक र उत्तरदायी पत्रकारिता अभ्यास गर्न उत्प्रेरित गर्ने अवसरसमेत दिवसले दिने विश्वास उहाँले व्यक्त गर्नुभयो।

“यस वर्षको दिवस पत्रकारिता क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआइ) को प्रभावसँग सम्बन्धित रहेको छ,” अध्यक्ष दाहालले सन्देशमा उल्लेख गर्नुभयो, “विज्ञान र प्रविधिको नवीनतम विकासका रूपमा एआइको प्रयोगले पत्रकारितामा सकारात्मक योगदानसँगै गलत सूचना, निगरानी र डिपफेकजस्ता गम्भीर चुनौतीहरू पनि सिर्जना गरेको छ। यस्तो प्रविधिलाई सदुपयोग गर्दै उत्तरदायी, पारदर्शी र नैतिक पत्रकारिता अभ्यासलाई अघि बढाउनु आवश्यक छ।”

अध्यक्ष दाहालले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा सञ्चार जगतको उल्लेखनीय योगदान रहेको उल्लेख गर्नुभयो। “राजनीतिक तथा सामाजिक रूपान्तरणका विभिन्न संघर्षको सफलतामा पत्रकारिताको भूमिका निर्विकल्प रह्यो,” उहाँले भन्नुभयो, “नेपाली पत्रकारिता जगतले दुर्गम क्षेत्र, पीडित वर्ग, सीमान्तकृत समुदाय र आवाजविहीनको आवाजलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन महत्वपूर्ण काम गरेको छ।”

साथै, संसदीय अभ्यासलाई प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन प्रेस जगतले संसद्, सरकार र राज्यका सबै निकायहरूलाई निरन्तर खबरदारी र सुझावमार्फत सकारात्मक सहयोग पुर्‍याएको उहाँले बताउनुभयो।

सन्देशको अन्त्यमा अध्यक्ष दाहालले सञ्चारकर्मीहरूलाई कुनै पनि दबाब, प्रभाव वा अवरोधबिना पेशागत जिम्मेवारी निर्वाह गर्न पाउने वातावरण सुनिश्चित गर्न राज्य, समाज र सबै सरोकारवाला पक्षहरूलाई सचेत रहन आग्रह गर्नुभएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका