Friday, June 19, 2026
Homeअर्थ र ब्यापारप्राधिकरणको हस्तक्षेपपछि अन्तर्राष्ट्रिय हवाई भाडामा सुधार

प्राधिकरणको हस्तक्षेपपछि अन्तर्राष्ट्रिय हवाई भाडामा सुधार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको हस्तक्षेपपछि अन्तर्राष्ट्रिय हवाई भाडामा केही सुधार आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन समय घटेसँगै हवाई टिकटमा भइरहेको ‘कालोबजारी’को अवस्था आंशिक रूपमा सुधार भएको पर्यटन व्यवसायीहरू बताउँछन्। तर यसको पूर्ण लाभ लिन अझै एक महिनाभन्दा बढी कुर्नुपर्ने देखिएको छ।

विमानस्थल सञ्चालन समय गत शुक्रबारदेखि कम हुन थालेको हो। यसअघि नै हवाई भाडा अस्वाभाविक रूपमा बढ्न थालेको थियो, जसमा काठमाडौँ–दिल्ली एकतर्फी टिकटको मूल्य ६०/७० हजार रुपैयाँसम्म पुगेको थियो। प्राधिकरणको हस्तक्षेपपछि नोभेम्बर महिनाका लागि दिल्लीको हवाई भाडा ४०/५० हजार रुपैयाँसम्म झरेको छ भने डिसेम्बर दोस्रो सातासम्ममा यो १९/२० हजार रुपैयाँसम्ममा आइपुगेको हिमालयन क्लब टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक विष्णु पाण्डे बताउँछन्। सामान्य अवस्थामा दिल्लीको भाडा १३–१५ हजार रुपैयाँ पर्न आएको थियो।

नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर्स (नाट्टा) का सचिव समेत रहेका पाण्डेका अनुसार, तुरुन्त टिकट चाहिने अवस्थामा अहिले पनि भाडा महँगो छ। सामान्य अवस्थामा पनि जति छिटो टिकट आवश्यक पर्छ, उति महँगो पर्ने गर्दछ। १० घण्टा विमानस्थल बन्द हुँदा डिमान्ड र सप्लाईको आधारमा भाडा बढेको थियो, तर अस्वाभाविक रूपमा बढेको भाडा भने अब नियन्त्रणमा आउन थालेको छ।

पाण्डेका अनुसार, भाडादर घट्नुमा टीबीए प्रणाली खारेज हुनु मुख्य कारण हो। एउटै ट्राभल कम्पनीलाई एकमुष्ट टिकट बिक्री गर्न नपाइने भएपछि टिकटलाई होल्ड गरेर महँगोमा बेच्न सक्ने स्थिति समाप्त भएको हो, जसले गर्दा भाडा घट्न पुगेको छ। नोभेम्बरसम्म अधिकांश टिकट बुकिङ भइसकेको र कतिपय एयरलाइन्सले निर्णयअघि नै एकमुष्ट टिकट खरिद गरिसकेका कारण अपेक्षित रूपमा भाडा घट्न नसकेको पनि बताइन्छ।

दिल्ली बाहेक अन्य गन्तव्यहरूमा पनि भाडा वृद्धिको दर उस्तै रहेको पाण्डेको भनाइ छ। चीन जाने र त्यहाँ ट्रान्जिट बनाएर अन्य देश जाने यात्रुहरूको लागि भने अन्यको तुलनामा भाडा थोरै मात्र महँगिएको छ।

यसैबीच, प्राधिकरणले दिल्लीका केही कटौती गरिएका उडानलाई समायोजन गरेको छ भने भैरहवाबाट पनि उडान सुरु हुँदा भाडादर नियन्त्रणमा मद्दत पुगेको देखिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका