काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयक प्रस्तुत गर्नुका साथै महालेखा परीक्षकको वार्षिक प्रतिवेदन संसद्मा पेस गर्ने कार्यसूची रहेको छ।
बैठकको प्रारम्भमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।
प्रधानमन्त्री बालेन शाहको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले ‘महालेखा परीक्षकको अठसट्ठीऔँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्नेछन्। साथै, उनले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्ने र त्यसपछि उक्त विधेयक संसद्मा पेस गर्ने कार्यसूची छ।
त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नेछन्। अनुमति प्राप्त भएपछि उक्त विधेयक पनि प्रतिनिधिसभामा पेस गरिनेछ।
यस्तै, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्ने र त्यसपछि विधेयक पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।


