काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा उनी सोमबार प्रतिनिधिमण्डलसहित भारत प्रस्थान गरेका हुन्।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेपछि सभापति लामिछानेलाई भाजपाका महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन्।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार लामिछाने जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमणमा रहनेछन्। भ्रमणका क्रममा उनले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
उनले भाजपाको शीर्ष नेतृत्व, भारतमा बसोबास गरिरहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको जनाइएको छ। नयाँ दिल्लीका कार्यक्रम सम्पन्न भएपछि लामिछानेले उत्तर प्रदेशस्थित अयोध्याको भ्रमण समेत गर्नेछन्।
भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा सांसद दीपक बोहोरा, निकिता पौडेल तथा नेता प्रदीप आचार्य सहभागी छन्।
रास्वपाले भ्रमणका क्रममा हुने सम्पूर्ण भेटघाट, छलफल तथा कार्यक्रमहरूको समन्वय नयाँ दिल्लीस्थित नेपाली दूतावासले गरिरहेको जनाएको छ।


