Friday, June 5, 2026
Homeसामाचारपरीक्षा हलबाट जफत ५०० मोबाइल नष्ट गरेपछि सिराहा प्रशासन विवादमा

परीक्षा हलबाट जफत ५०० मोबाइल नष्ट गरेपछि सिराहा प्रशासन विवादमा

सिराहा । जिल्ला प्रशासन कार्यालय सिराहाले एसईई र कक्षा १२ परीक्षाका क्रममा जफत गरिएका करिब ५०० मोबाइल फोन र स्मार्ट घडी नष्ट गरेपछि उक्त निर्णय विवादमा परेको छ। बरामद सामग्रीको बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको अनुमान गरिएको छ भने अभिभावक र कानुन व्यवसायीहरूले प्रशासनको कदममाथि प्रश्न उठाएका छन्।

प्रशासनका अनुसार परीक्षा मर्यादा कायम राख्न र भविष्यमा उपकरणको दुरुपयोग रोक्न मोबाइल नष्ट गरिएको हो। परीक्षाका क्रममा सात थान आईफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल तथा पाँच वटा स्मार्ट घडी जफत गरिएको थियो।

अभिभावकहरूले भने विद्यार्थीको गल्तीका कारण अभिभावकले किनेको व्यक्तिगत सम्पत्ति नष्ट गर्नु उचित नभएको बताएका छन्। उनीहरूको तर्क छ, नियम उल्लङ्घन गर्ने विद्यार्थी वा सम्बन्धित पक्षमाथि कारबाही गर्न सकिन्थ्यो, तर मोबाइल नष्ट गर्नु आवश्यक थिएन।

कानुन व्यवसायीहरूले पनि मोबाइल व्यक्तिगत सम्पत्ति भएकाले यसको नष्ट गर्ने निर्णय कानुनी विवादको विषय बन्न सक्ने बताएका छन्। उनीहरूका अनुसार अभिभावकले कानुनी प्रक्रिया अघि बढाए निर्णयमा संलग्न व्यक्तिहरूमाथि कारबाही र क्षतिपूर्तिको माग उठ्न सक्छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने शिक्षा ऐन तथा जिल्ला परीक्षा समन्वय समितिको निर्णयअनुसार उपकरण नष्ट गरिएको स्पष्ट पारे। उनका अनुसार जफत सामग्री लिलामी गर्न सकिने भए पनि मोबाइल पुनः दुरुपयोग हुन सक्ने जोखिमलाई ध्यानमा राखेर नष्ट गर्ने निर्णय गरिएको हो।

मोबाइल व्यवस्थापनका लागि गठित पाँच सदस्यीय उपसमितिले जिल्ला प्रहरी कार्यालय परिसरमा मोबाइलहरू २४ घण्टा पानीमा डुबाएर प्रयोग गर्न नसकिने अवस्थामा पुर्‍याई फुटाएर नष्ट गरेको जनाएको छ। समितिका अनुसार उपकरण पुनः प्रयोग हुन नदिन यस्तो निर्णय गरिएको हो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका