Friday, June 26, 2026
Homeराजनीतिपरिवर्तन विरोधी शक्ति सक्रिय : अध्यक्ष दाहाल

परिवर्तन विरोधी शक्ति सक्रिय : अध्यक्ष दाहाल

काठमाडौँ: राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्था परिवर्तन भए पनि जनताको अपेक्षित रूपान्तरण हुन नसक्दा परिवर्तन विरोधी शक्ति सक्रिय भइरहेको बताउनुभएको छ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित जालपादेवी माविको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गणतान्त्रिक व्यवस्थामाथि षड्यन्त्र भइरहेको भन्दै सचेत रहनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, र आर्थिक समृद्धि खोजेपनि उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र, र समुदायका जनताले अझै मौलिक हकको पूर्ण उपभोग गर्न नपाउँदा निराशा देखिएको बताउनुभयो।

“परिवर्तन विरोधी शक्तिहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र गरिरहेका छन्, त्यसप्रति हामी सचेत रहनुपर्छ,” अध्यक्ष दाहालले भन्नुभयो।

राष्ट्रको समृद्धिमा शिक्षाको भूमिकालाई जोड दिँदै उहाँले शिक्षित र दक्ष जनशक्ति नै देशको समग्र विकासको मेरुदण्ड हुने उल्लेख गर्नुभयो। साथै, विद्यालयको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पराजुलीका अनुसार हाल विद्यालयमा ११२ छात्र र १३५ छात्रा अध्ययनरत छन्। गत वर्षको कक्षा १२ को परीक्षामा सबै विद्यार्थी उत्तीर्ण भएका थिए।

सो अवसरमा विद्यालयका जग्गादाता र संस्थापकलाई सम्मान गरिनुका साथै विद्यालयद्वारा प्रकाशित स्मारिका विमोचन गरिएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका