Thursday, August 6, 2026
Homeअर्थ र ब्यापारनेपाली सेनाको नयाँ तलबमान सार्वजनिक : प्रधान सेनापतिदेखि सिपाहीसम्म कसको तलब कति?...

नेपाली सेनाको नयाँ तलबमान सार्वजनिक : प्रधान सेनापतिदेखि सिपाहीसम्म कसको तलब कति? (सूचीसहित) ✅

काठमाडौं । नेपाल सरकारले नेपाली सेनासहित निजामती कर्मचारी, नेपाल प्रहरी र शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान र सुविधा निर्धारण गरेको हो।

नयाँ तलबमानअनुसार नेपाली सेनाको सर्वोच्च पद प्रधान सेनापतिको मासिक तलब ९० हजार ५ सय ९४ रुपैयाँ कायम गरिएको छ। प्रधान सेनापतिको सुरुवाती तलब ८४ हजार ९ सय ३२ रुपैयाँ रहेकोमा दुई ग्रेड थप भएपछि उक्त रकम कायम भएको हो। त्यस्तै, रथीको मासिक तलब ८७ हजार ८५ रुपैयाँ र उपरथीको ८४ हजार ५ सय ७६ रुपैयाँ निर्धारण गरिएको छ।

सैनिक अधिकारीहरूको तलब वृद्धि विवरणअनुसार सहायक रथीको ७८ हजार २ सय २० रुपैयाँ, महासेनानीको ७२ हजार ८ सय ७६ रुपैयाँ, प्रमुख सेनानीको ६९ हजार ९ रुपैयाँ र सेनानीको ६७ हजार ९ सय ७ रुपैयाँ पुगेको छ। सह–सेनानीले ६२ हजार ३ सय १५ रुपैयाँ, उप–सेनानीले ५९ हजार ५ सय ३७ रुपैयाँ तथा सहायक सेनानीले ४८ हजार ५८ रुपैयाँ मासिक तलब पाउनेछन्।

जुनियर कमिसन्ड अफिसर (जेसीओ) तर्फ प्रमुख सुवेदारको मासिक तलब ४९ हजार ६ सय ७ रुपैयाँ, सुवेदारको ४७ हजार १ सय १४ रुपैयाँ र जमदारको ४३ हजार ३ सय ७२ रुपैयाँ कायम गरिएको छ। तल्लो तहका सैनिक कर्मचारीमध्ये हुद्दाको ३७ हजार ६ सय ४८ रुपैयाँ, अमलदारको ३७ हजार ४ सय ५७ रुपैयाँ र प्यूठको ३७ हजार १ सय १३ रुपैयाँ तलब तोकिएको छ।

नेपाली सेनाको आधारभूत पद सिपाहीको मासिक तलब ३६ हजार ३ सय ३८ रुपैयाँ पुगेको छ भने रिक्रुटको २७ हजार १ सय ७२ रुपैयाँ कायम गरिएको छ। विभिन्न श्रेणीका फलोअर्सहरूको तलब भने दर्जाअनुसार करिब २८ हजारदेखि ४० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ।

विमान सम्भार समूहका प्राविधिक सैनिकहरूको तलब पनि सोही अनुपातमा केही बढी कायम गरिएको छ। यसअन्तर्गत पाइलट उपरथीको मासिक तलब ९० हजार ५ सय ९ रुपैयाँसम्म पुगेको छ।

सरकारले साउन १ गतेदेखि लागू हुने गरी कायम भएको तलबमानमा ग्रेड रकमसहित १० प्रतिशत मासिक प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय पनि गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका