काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीहरूलाई लगानी विस्तार गर्न र नयाँ परियोजनामा थप पुँजी भित्र्याउन आग्रह गरेका छन्।
सोमबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन, सञ्चालनमा रहेका उद्योगको क्षमता विस्तार गर्न र नयाँ रोजगारी सिर्जना गर्न २० वटा ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई आग्रह गरेका हुन्।
‘नेपालमा अझ ठूलो लगानी गर्नुहोस्, भइरहेको उद्योग विस्तार गर्नुहोस्,’ अर्थमन्त्री वाग्लेले भने, ‘नयाँ उत्पादन र प्रविधिमा प्रवेश गर्नुहोस्। सरकार तपाईंहरूको साथमा उभिनेछ।’
छलफलमा सहभागी कम्पनीका प्रतिनिधिहरूले नेपालमा करिब २०० अर्ब रुपैयाँ बराबरको थप लगानी गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी गराएका छन्। उनीहरूले नीतिगत स्थिरता कायम भए लगानी थप विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।
जलविद्युत्, खाद्य तथा पेय पदार्थ, होटल, पेन्ट, सिमेन्टलगायत उत्पादनमूलक क्षेत्रमा लगानी विस्तारको तयारी भइरहेको कम्पनीका प्रतिनिधिहरूले जानकारी गराएका थिए।
उनीहरूले नयाँ सरकारले ल्याएको बजेटले विदेशी लगानीकर्ताको मनोबल बढाएको बताउँदै लगानीको वातावरण थप सहज बनाउन केही नीतिगत तथा व्यावहारिक सुधार आवश्यक रहेको औँल्याए।
कम्पनी प्रतिनिधिहरूले उद्योग विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, कर तथा भन्सार कार्यालयका प्रशासनिक काममा सुधार देखिए पनि थप सहजीकरण आवश्यक रहेको बताए।
उनीहरूले माउ कम्पनीबाट नेपालमा पुँजी भित्र्याउने प्रक्रियालाई सहज बनाउन सरकारसँग आग्रह गरेका छन्। साथै आर्थिक तथा फौजदारी अपराधको स्पष्ट व्याख्या, आयकर ऐनको दफा ५७ मा संशोधन र श्रमिकसम्बन्धी कानुनमा सुधार गर्नुपर्ने सुझाव दिएका छन्।
त्यस्तै, बहुराष्ट्रिय कम्पनीले आयात गर्ने कच्चा पदार्थमा स्थिर भन्सार दर कायम गर्न, नेपालमै उपलब्ध कच्चा पदार्थ प्राप्तिमा सहजीकरण गर्न, मूल्य नियन्त्रणका विषयमा स्पष्टता ल्याउन, जग्गाको हदबन्दीसम्बन्धी व्यवस्था सहज बनाउन र स्थानीय तहअनुसार फरक–फरक कर निर्धारणको समस्या समाधान गर्न उनीहरूले आग्रह गरेका छन्।
औद्योगिक वातावरण सुधारका लागि सरकारी सेवाप्रवाहलाई थप प्रविधिमैत्री बनाउन, दोहोरो करको समस्या हटाउन तथा लगानीको प्रतिफल विदेश फिर्ता लैजाने प्रक्रियालाई सहज बनाउन पनि उनीहरूले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
छलफलमा सूर्य नेपाल, एनसेल आजियाटा, आरती स्ट्राइप्स, गोर्खा ब्रुअरी, हिमालय एयरलाइन्स, होङ्सी शिवम् सिमेन्ट, डुसान इनरबिलिटी, डाबर नेपाल, बोटलर्स नेपाल, युनिलिभर नेपाल, एसियन पेन्टस्, पावर कन्स्ट्रक्सन, गोर्खा लाहारी, हुवासिन सिमेन्ट नारायणी, न्युहोप एग्रो बिजनेस, नेपाल वेलहोप एग्रीटेक, वरुण बेभरेज, टर्किस एयरलाइन्स, भोटेकोशी पावर कम्पनी र बर्जर पेन्टस् लगायतका कम्पनीका नेपाल प्रमुख तथा नेपाली लगानीकर्ताहरू सहभागी थिए।
अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयन र अर्थतन्त्र चलायमान बनाउने विषयमा निजी क्षेत्रसँग छलफललाई तीव्रता दिएका छन्। यसअघि उनले उत्पादनमूलक उद्योग सञ्चालन गरिरहेका करिब तीन दर्जन उद्योगीसँग छलफल गरेका थिए। त्यसपछि वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग पनि अर्थतन्त्र विकासका विषयमा छलफल गरेका थिए।


