Monday, May 11, 2026
Homeसुन्दर नेपालनेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’ (तस्बिरसहित)

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’ (तस्बिरसहित)

टेक्सास । अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ भव्य रूपमा आयोजना गरिएको छ । नेपाली कला, संस्कृति, वेशभूषा र परम्पराको प्रदर्शनमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) क्यालिफोर्नियालगायत विभिन्न नेपाली सामाजिक संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न उत्सवमा अमेरिकाका विभिन्न सहरमा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । लस एन्जलस, सान डिएगो, साक्रामेन्टो, बेकर्सफिल्ड, लङ बीचलगायत स्थानबाट नेपालीहरू सान फ्रान्सिस्को पुगेका थिए ।

कार्यक्रमअन्तर्गत सान फ्रान्सिस्को सिटी हलबाट सुरु भएको नेपाल डे परेड एम्बार्काडेरो प्लाजासम्म करिब १.६ माइल दूरीमा सम्पन्न भएको थियो । परेडका क्रममा मार्केट स्ट्रिट क्षेत्र सवारी आवागमनका लागि बन्द गरी पैदलयात्रुका लागि खुला गरिएको थियो ।

विभिन्न जातीय तथा क्षेत्रीय संस्थाहरूले प्रस्तुत गरेका झाँकी, नेपाली पोशाक र सांस्कृतिक प्रस्तुतीहरूले सहरलाई नेपालमय बनाएको थियो । स्थानीय अमेरिकी समुदायले पनि नेपाली कला र संस्कृतिमा रुचिपूर्वक सहभागिता जनाएको आयोजकले बताएका छन् ।

नेपाली समुदायलाई प्रोत्साहन गर्न अमेरिकाका स्थानीय जनप्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी भएका थिए । पञ्चकन्या, पञ्चेबाजा, शङ्खध्वनि, कुमारी नृत्य, धिमे तथा लाखे नाच उत्सवका मुख्य आकर्षण बनेका थिए ।

सान फ्रान्सिस्कोस्थित विभिन्न देशका महावाणिज्य दूतावासका कूटनीतिक अधिकारी, बे एरियाका मेयर तथा सिटी काउन्सिल सदस्यहरूको समेत सहभागिता रहेको एनआरएनए क्यालिफोर्नियाका सचिव कैलाश केसीले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका