नयाँदिल्ली । राष्ट्रिय पात्रता प्रवेश परीक्षा (NEET-UG) को प्रश्नपत्र बाहिरिएको विवाद र त्यसलाई लिएर चर्किएको विद्यार्थी आन्दोलनबीच भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीको सिफारिसमा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानको राजीनामा स्वीकृत गरेकी छन्। राजीनामापछि रिक्त भएको शिक्षा मन्त्रालयको जिम्मेवारी केन्द्रीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण तथा नवीन एवं नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीलाई अतिरिक्त जिम्मेवारीका रूपमा दिइएको छ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिसमा जोशीले अब शिक्षा मन्त्रालयको कार्यभार पनि सम्हाल्नेछन्।
लामो समयदेखि नयाँदिल्लीस्थित जन्तरमन्तरमा जारी आन्दोलन र बढ्दो राजनीतिक दबाबका बीच शिक्षामन्त्री प्रधानले पदबाट अलग हुने निर्णय गरेका हुन्।
राजीनामापछि जारी आफ्नो प्रतिक्रियामा प्रधानले देशको एकता कायम राख्न, विद्यार्थीहरूको भविष्य अन्योलमा नपरोस् र आन्दोलनको फाइदा देशविरोधी शक्तिहरूले उठाउन नपाऊन् भन्ने उद्देश्यले आफूले पद त्यागेको बताएका छन्।
यता, शिक्षामन्त्रीको राजीनामापछि केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग भएको वार्तापछि आन्दोलनरत कक्रोच जनता पार्टी (सीजेपी) ले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गर्ने घोषणा गरेको छ।
सीजेपीका प्रवक्ता आशुतोष रांकाका अनुसार सरकारसँग प्रमुख मागहरूमा सहमति जुटेकाले प्रदर्शनकारीहरूलाई घर फर्किन आग्रह गरिएको छ। साथै, शिक्षा सुधार र बाँकी मागबारे चार सातापछि पुनः वार्ता गर्ने सहमति भएको पनि उनले जानकारी दिएका छन्.


