काठमाडौं:थाइल्याण्डमा राजनीतिक अस्थिरता जारी रहँदै गर्दा ७० वर्षीय सूर्या जंगरुनग्रेङकिटलाई बुधबार देशको कामचलाउ (कार्यवाहक) प्रधानमन्त्री नियुक्त गरिएको छ। उनले केवल २४ घण्टाको लागि प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने छन्।
सूर्याले संवैधानिक अदालतको आदेशपछि पदबाट निलम्बनमा परेका प्रधानमन्त्री प्योटोङटार्न शिनावात्रालाई प्रतिस्थापन गरेका हुन्। थाई राजनीतिमा सूर्यालाई ‘मौसमविद्’ को उपनाम दिइएको छ, किनभने उनी सधैं सत्तारूढ दलहरूसँग नजिक रहँदै सरकारको भाग बन्ने गरेका छन्।
बिहीबार मन्त्रिपरिषद् पुनर्गठन हुँदै
बैंकक पोस्टको रिपोर्ट अनुसार, बिहीबार थाइल्याण्डमा मन्त्रिपरिषद् पुनर्गठन गरिनेछ। यसक्रममा गृहमन्त्री फुम्थम भेचायचाईले उपप्रधानमन्त्रीको रूपमा शपथ लिने सम्भावना रहेको छ। उनी पदभार सम्हालेपछि सूर्याको कार्यवाहक कार्यकाल स्वतः समाप्त हुनेछ।
थाइल्याण्डको संवैधानिक अदालतले मंगलबार प्रधानमन्त्री प्योटोङटार्न शिनावात्रालाई निलम्बन गर्ने आदेश दिएको थियो, जसले गर्दा देशमा नेतृत्व परिवर्तन आवश्यक भएको हो।


