काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले सुनजस्तो देखिने पहेँलो धातुसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
मंगलबार पक्राउ पर्ने व्यक्ति भारतका ४५ वर्षीय नर्पतसिंह सोलङ्की हुन्, जसको राहदानी नम्बर बी ६६४४९३४ रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार सोलङ्की थाइल्याण्डको बैंककबाट थाइ लायन एयरको उडान नम्बर एसएल–२२० मार्फत काठमाडौं आएका थिए। विमानस्थलको आगमन कक्षमा जाँचपश्चात टनेल गेट हुँदै बाहिर निस्कँदै गर्दा उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
पछिल्लो अनुसन्धानका क्रममा केएमसी अस्पतालमा गरिएको भिडियो एक्स–रे परीक्षणमा सोलङ्कीको मलद्वारमा प्लास्टिकमा बेरिएको सुनजस्तो देखिने धातुको एक डल्ला फेला परेको प्रहरीको भनाइ छ। सो डल्लाको तौल ९० ग्राम रहेको जनाइएको छ।
बरामद गरिएको धातु लेखा शाखामा सुरक्षित राखिएको र सोलङ्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको एआइजी कार्कीले बताए। उनले थपे, “कार्यालय खुलेपछि बरामद वस्तु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, सिनामङ्गलमा बुझाइनेछ।”


