सिरहा: सिरहाको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि गरिएको जातीय विभेदको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष तथा जनमत पार्टीका नेता दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको छ।
मधेश प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यका अनुसार उनीहरूसँग सोधपुछ भइरहेको छ। पीडितबाट जाहेरी प्राप्त भएपछि कानूनी प्रक्रियाअनुसार कारबाही अघि बढाइने जनाइएको छ।
यही चैत १७ गतेदेखि महायज्ञ लगाउनका लागि सिरहाको औरही–५ निवासी दलित दीपक मलिक (डोम)को घर गत फागुन १० गते भत्काइएको थियो। उक्त कार्यमा गाउँपालिकाको जेसीबी प्रयोग गरिएको थियो, जसमा अध्यक्ष यादव स्वयं संलग्न रहेको बताइन्छ। घर भत्काएपछि त्यस स्थानको माटोसमेत हटाइएको थियो, जसका कारण जातीय विभेदको आरोप लगाउँदै घटनाको व्यापक विरोध भएको थियो।
यस घटनामा स्थानीय प्रशासनको संवेदनशीलता अभाव देखिएको भन्दै गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई शुक्रबारै मन्त्रालय तानेको छ। साथै, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय दलित आयोगले घटनालाई गम्भीर रूपमा लिँदै स्थलगत अनुगमनसमेत गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा पनि सांसदहरूले पटकपटक यस घटनामा संसदीय छानबिन समिति गठनको माग गर्दै दोषीमाथि तत्काल कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। घटनाले जातीय विभेदविरुद्धको कानूनी कार्यान्वयन र प्रशासनिक उत्तरदायित्वमाथि गम्भीर प्रश्न खडा गरेको छ।


