काठमाडौं । क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नी भोलि (शुक्रबार, १४ मार्च) शपथ ग्रहण गर्दैछन्। उनी क्यानडाको २४औं प्रधानमन्त्री को रूपमा ओटावास्थित रिडाउ हलको बलरूममा नेपाली समयअनुसार राति ८:४५ बजे शपथ लिनेछन्।
मन्त्रिपरिषद्का सदस्यहरू समेत शुक्रबार शपथ लिनेछन्। कार्नीले फेब्रुअरी ९ मा लिबरल पार्टीको नेताको चुनाव जितेका थिए, जहाँ उनले ८५.९% मत प्राप्त गर्दै नयाँ नेता बनेका थिए।
यसअघि, कार्नीले सत्ता हस्तान्तरणको तयारीस्वरूप प्रधानमन्त्री जस्टिन ट्रुडोसँग भेटवार्ता गरेका थिए। ट्रुडोले जनवरीमा राजीनामा दिने घोषणा गरेका थिए र भोलि गभर्नर जनरलकहाँ आधिकारिक रूपमा राजीनामा बुझाउनेछन्।
मार्क कार्नी: अर्थशास्त्रीदेखि प्रधानमन्त्रीसम्मको यात्रा
मार्क कार्नी एक अनुभवी अर्थशास्त्री र पूर्व केन्द्रीय बैंकर हुन्। उनले २००८ मा बैंक अफ क्यानडाको गभर्नरको रूपमा कार्यभार सम्हालेका थिए। क्यानडालाई मन्दीबाट बाहिर निकाल्न उनले चालेका कदमहरू प्रशंसनीय मानिन्छन्।
यसपछि, २०१३ मा उनी बैंक अफ इङ्गल्याण्डको गभर्नर बने र यो जिम्मेवारी पाउने पहिलो गैर-ब्रिटिश नागरिक भए। उनले ब्रेक्जिटका दौरान लिएका आर्थिक निर्णयहरूले बेलायतमा समेत निकै चर्चा पायो।
अब, उनी क्यानडाको नेतृत्व सम्हाल्दैछन्। शपथ ग्रहण समारोहमा लिबरल पार्टीका शीर्ष नेताहरू, पूर्व प्रधानमन्त्री ट्रुडो, तथा कूटनीतिक समुदायका व्यक्तित्वहरू उपस्थित रहनेछन्।


