विराटनगर । तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत ल्याउन थालिएको छ। नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत पहिलोपटक नियमित कार्गो रेल सेवा सञ्चालनमा आएपछि पूर्वी नेपालका उद्योगी–व्यवसायीले ढुवानी समय र लागत दुवै घट्ने अपेक्षा गरेका छन्।
गत शुक्रबार कोलकाता बन्दरगाहबाट छुटेको औद्योगिक कच्चा पदार्थ बोकेको पहिलो नियमित कार्गो रेल सोमबार विराटनगर भन्सार यार्डमा आइपुगेको हो। पहिलो खेपमा मोरङ–सुनसरी औद्योगिक करिडोरस्थित स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ ल्याइएको छ।
यसअघि यस्ता सामग्री भारतको बथनाहासम्म रेलमार्फत ल्याइन्थ्यो र त्यसपछि सडकमार्फत नेपाल भित्र्याउनुपर्ने अवस्था थियो। अब भने रेल सिधै विराटनगर भन्सार यार्डसम्म पुग्न थालेपछि ढुवानी प्रक्रिया थप सहज, छिटो र कम खर्चिलो हुने अपेक्षा गरिएको छ।
कार्गो रेल सेवाको औपचारिक शुभारम्भ कोलकातामा आयोजित कार्यक्रममा गरिएको थियो। कार्यक्रममा कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, भारतीय भन्सारका उच्च अधिकारी, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम (कोनकोर)का प्रतिनिधिले संयुक्त रूपमा हरियो झण्डा देखाएर रेललाई विराटनगरका लागि बिदाइ गरेका थिए।
सोमबार रेल विराटनगर भन्सार यार्डमा आइपुग्दा भन्सार कर्मचारी, उद्योगी तथा व्यवसायीले स्वागत गरेका थिए। उद्योगीहरूले नियमित रेल सेवा सञ्चालनले आयात लागत घट्नुका साथै कच्चा पदार्थ समयमै उपलब्ध हुने र उद्योग सञ्चालन थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन्।
विराटनगरको एकीकृत जाँच चौकी (आईसीपी) सम्म कार्गो रेल सञ्चालन गर्ने लक्ष्यसहित २०८० साल जेठमा परीक्षण सेवा सुरु गरिएको थियो। तर नीतिगत जटिलता र आवश्यक समन्वयको अभावका कारण सेवा नियमित हुन सकेको थिएन।
हाल नेपाल र भारतका सम्बन्धित निकायबीच आवश्यक नीतिगत सहमति भएपछि कोलकाता–विराटनगर नियमित कार्गो रेल सेवा सञ्चालनको बाटो खुलेको हो। यसलाई पूर्वी नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।


