Friday, September 18, 2026
Homeअर्थ र ब्यापारकाठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य घट्यो, प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम

काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य घट्यो, प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम गरेको छ। संघले उद्योगीहरूलाई नेपाल आयल निगमले तोकेको पुरानै मूल्यमा ग्यास बिक्री–वितरण गर्न निर्देशन दिएको हो।

पृथ्वी राजमार्गमा वैकल्पिक ट्र्याक खुलेर ग्यास बुलेटहरू सिधै काठमाडौं आउन थालेपछि ढुवानी भाडाबापत थपिएको रकम हटाउँदै पूर्ववत् मूल्य कायम गरिएको संघले जनाएको छ।

गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको भीषण बाढीले पृथ्वी राजमार्ग कटान गरेपछि सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएपछि उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषाका प्लान्टबाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्ग हुँदै ट्रकमार्फत काठमाडौंमा ग्यास ल्याउँदै आएका थिए।

लामो तथा वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा ढुवानी खर्च बढेपछि संघले भदौ १८ गते विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा १०५ रुपैयाँ ३८ पैसा ढुवानी खर्च थप गरी अधिकतम २ हजार १६५ रुपैयाँ ३८ पैसामा बिक्री गर्न उद्योगीहरूलाई आग्रह गरेको थियो।

तर अहिले अवरुद्ध सडकखण्डमा वैकल्पिक ट्र्याक खुलेर यातायात सञ्चालनमा आइसकेको र ग्यास बुलेटहरू सिधै काठमाडौं उपत्यका भित्रिन थालेकाले वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्नुपर्ने अवस्था अन्त्य भएको संघले जनाएको छ।

संघका अध्यक्ष दिवान चन्दले जारी गरेको विज्ञप्तिअनुसार असोज २ गतेदेखि लागू हुने गरी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढीमा बिक्री नगर्न उद्योगीहरूलाई आग्रह गरिएको छ। साथै, सोहीअनुसार आफ्ना विक्रेताहरूलाई जानकारी गराउन पनि संघले उद्योगीहरूलाई निर्देशन दिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका