Friday, July 3, 2026
Homeराजनीतिकम्युनिष्ट एकताको प्रक्रिया अघि बढ्योः प्रचण्ड

कम्युनिष्ट एकताको प्रक्रिया अघि बढ्योः प्रचण्ड

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको तयारीका लागि आवश्यक पर्ने कम्युनिष्ट एकताको प्रक्रियामा गम्भीर ढंगले अगाडि बढिरहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले समाजवादी आन्दोलन अघि बढ्दै जाँदा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया पनि सँगसँगै अगाडि बढ्ने बताउँदै अहिले कम्युनिष्ट एकताको दिशामा गम्भीर प्रयास भइरहेको उल्लेख गरे।

उनले भने, “हामी समाजवादी क्रान्तिको तयारीका लागि आवश्यक पर्ने कम्युनिष्ट एकताको प्रक्रियामा गम्भीर ढंगले अघि बढिरहेका छौं। यसअघि ०६४ सालको निर्वाचनमा प्राप्त जनमत जोगाउन नसक्दा पार्टी विभाजन भयो, जसले श्रमजीवी वर्गलाई ठूलो क्षति पुर्‍यायो। महान सहिदहरुको सपना ओझेलमा पर्‍यो। तर संविधान घोषणापछि फेरि एकताको प्रक्रिया सुरु भएको छ।”

प्रचण्डले विश्वभर भएका क्रान्ति र प्रतिक्रान्तिका अनुभवका आधारमा नेपालमा मौलिक ढंगले समाजवादतर्फ अघि बढ्ने लक्ष्य राखेको उल्लेख गरे। साथै, नेकपा एमालेसँग पनि समाजवादी क्रान्तिको दिशामा सहकार्यको प्रयास गरे तापनि देशी-विदेशी प्रतिगामी शक्तिहरूको कारण ती प्रयास सफल हुन नसकेको आरोप लगाए।

त्यसै अवसरमा नेसपा (नेपाल समाजवादी पार्टी) का अध्यक्ष गंगानारायण श्रेष्ठले अतीतमा पार्टीबाट अलग हुनु गल्ती भएको स्वीकार गर्दै पार्टी एकताको पहल सुरु गरिएको जानकारी दिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका