काठमाडौँ, २० मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दुई खेल हुँदैछन्। पहिलो खेल बिहान ११:१५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स बीच हुनेछ। त्यसपछि दिउँसो ३:३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।
पहिलो क्वालिफायरमा प्रवेश गरिसकेको सुदूरपश्चिमले आजको खेलमा कुनै दबाब छैन। उसले छ खेलबाट १२ अंक बटुलेर शीर्ष स्थान कायम राखेको छ। तर आठ अंकका साथ प्लेअफ सुरक्षित गरेका विराटनगरका लागि भने पहिलो क्वालिफायर खेलने सम्भावना जोगाउन आजको जित अत्यन्त महत्वपूर्ण छ।
यदि विराटनगरले राम्रो रनरेटका साथ विजय निकाले, उनीहरू सुदूरपश्चिमसँगै पहिलो क्वालिफायरमा खेल्नेछन्। अन्यथा, उनीहरू लुम्बिनी लायन्ससँग इलिमिनेटर खेल खेलेर अगाडि बढ्नुपर्नेछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमाडौँ गोर्खाज प्रतिस्पर्धा गर्ने तय छ।
दिउँसो हुने दोस्रो खेलमा प्लेअफ दौडबाट बाहिरिसकेका चितवन र पोखरा बीच प्रतिष्ठाको लडाइँ मात्र हुनेछ। दुवै टोलीले छ खेलबाट चार–चार अंक मात्र बटुलेका छन्।


