काठमाडौँ — दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको फाइनल खेल आउँदो शनिबार हुने भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३:३० बजे हुने फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्ससँग उपाधिका लागि भिड्नेछ।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले पराजित गर्दै उपाधि नजिक पुगेको थियो। उता, पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग हार खेलेको विराटनगरलाई दोस्रो मौका मिल्दा लुम्बिनीले दोस्रो क्वालिफायरमा ४० रनले हराउँदै फाइनलमा प्रवेश गरेको हो।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले गत वर्ष जनकपुर बोल्ट्ससँग ५ विकेटले हार बेहोरेपछि यसपटक उपाधि जितेर पुनः प्रतिष्ठा कायम गर्ने लक्ष्य राखेको छ।
रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी भने गत वर्ष लिग चरणमै बाहिरिएको निराशा मेटाउँदै योपटक जसरी भए पनि ट्रफी उठाउने मनस्थितिमा छ। लिग चरणमै गर्दा यी दुवैबीचको खेल सुदूरपश्चिमले ७ विकेटले जितेको थियो।
एपिएल विजेताले रु १ करोड १० लाख, उपविजेताले रु ५१ लाख, तेस्रो स्थानले रु २५ लाख र चौथो स्थानले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछ। मङ्सिर १ गतेदेखि सुरु भएको यस प्रतियोगितामा आठ टोली सहभागी थिए।


