काठमाडौँ, २५ मङ्सिर — त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायर खेल आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र विराटनगर किङ्सबीच हुँदैछ ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनको हार बेहोरेपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको हो । उता, लुम्बिनी लायन्सले इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको थियो ।
लिग चरणको भेटमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियो । आजको खेलमा विजयी हुने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ, जबकि पराजित टोलीको उपाधि यात्राको अन्त्य हुनेछ ।
फाइनल खेल यही मङ्सिर २७ गते आयोजना हुनेछ, जहाँ आजको विजेता टोलीले सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।


