काठमाडौं । इरानले डिसेम्बर २०२४ देखि हिरासतमा रहेकी अमेरिकी–इरानी नागरिक देना करारीलाई रिहा गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको पुष्टि गर्दै करारी सुरक्षित रूपमा इरानबाट बाहिरिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्।
ट्रम्पले बिहीबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानको निर्णयलाई “सद्भावनाको संकेत” को संज्ञा दिएका छन्।
उनले लेखेका छन्, “इरानले डिसेम्बर २०२४ मा तत्कालीन राष्ट्रपति जो बाइडेनको कार्यकालमा हिरासतमा लिइएकी एक अमेरिकी नागरिकलाई देश छोड्न अनुमति दिएको छ। उनी अहिले सुरक्षित रूपमा इरानबाट बाहिर आइसकेकी छन् र राम्रो अवस्थामा छिन्। संयुक्त राज्य अमेरिकाले यो सद्भावनाको कदर गर्दछ।”
यो रिहाइ अमेरिका र इरानबीच पछिल्लो समय बढ्दै गएको सैन्य तथा कूटनीतिक तनावका बीच भएको हो। विशेषगरी हर्मुज जलडमरूमध्य क्षेत्रमा बढ्दो अमेरिकी सैन्य गतिविधि र दुवै देशबीचको तनावका कारण यस घटनालाई कूटनीतिक दृष्टिले महत्त्वपूर्ण विकासका रूपमा हेरिएको छ।


