काठमाडौँ: बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० बजे सुरु हुनेछ। यस बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको आगामी कार्यदिशाबारे छलफल गरिनेछ।
त्यसैगरी, बिहान ११ः३० बजे नै सुरु हुने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुने कार्यक्रम छ।
दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गरिनेछ।


