Saturday, June 6, 2026
Homeखेलकुदआज एनपिएलमा दुई रोमाञ्चक भिडन्त: प्लेअफ दौडमा टिमहरूको ‘कर या मर’ खेल

आज एनपिएलमा दुई रोमाञ्चक भिडन्त: प्लेअफ दौडमा टिमहरूको ‘कर या मर’ खेल

काठमाडौँ – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई महत्वपूर्ण खेल हुँदैछन्।

पहिलो खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११:४५ बजे हुनेछ, जहाँ रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स र कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्स भिड्नेछन्। दुवै टोलीले यसअघि न्यून प्रदर्शन गरेका कारण आजको खेल ‘कर या मर’ बनेको छ।
चार खेलमध्ये एक खेल मात्रै जितेको लुम्बिनी अंक तालिकाको सातौँ स्थानमा छ भने पोखरा तीन खेलबाट एक जित सहित छैटौँ स्थानमा रहेको छ। प्लेअफमा पुग्ने आशा जोगाइराख्न दुवै टोलीलाई आज जित अपरिहार्य छ।

अपराह्न ४:०० बजे हुने दोस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। तीन खेलमध्ये कुनै पनि जित निकाल्न नसकेको जनकपुर आज पहिलो जितको खोजीमा हुनेछ। यो खेल हार्ने हो भने जनकपुर प्लेअफ दौडबाट बाहिरिनेछ।

यता अपराजित सुदूरपश्चिम चारै खेल जितेर तालिकाको शीर्षमा छ। आजको जितसँगै सुदूरपश्चिम प्लेअफमा स्थान पक्का गर्ने लक्ष्यमा छ। साथै, गत संस्करणको फाइनलमा जनकपुरसँग भएको हारको बदला लिने मनसाय पनि टोलीको छ।

दुवै पक्षको अवस्थाले गर्दा दोस्रो खेल अत्यन्त रोमाञ्चक हुने अनुमान गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका