बहुदलीय व्यवस्था छ भनेर के गर्नु ? आफ्नै पार्टीका नेता कार्यकर्ता पार्टीको नेतृत्व विपरीत जान्छन् भने त्यो व्यवस्था नै खतरामा छ।
आज नेपाली राजनीति यस्तो स्थानमा उभिएको छ, जहाँबाट न अगाडि बढ्न सकिन्छ न त पछाडि फर्किने कुनै सम्भावना छ। अर्थात् नेपाली राजनीतिको हलो अड्किएको छ। हलो पनि यसरी अड्किएको छ कि त्यो सहजै अगाडि बढ्न सक्ने देखिँदैन। नेपालमा अघिल्लो निर्वाचनमा जनताले एउटा दललाई लगभग दुईतिहाई बहुमत दिएर जिताएका थिए। तर, बहुमतको सरकार भएर पनि ५ वर्षसम्म टिक्न सकेन।सरकार गठनको दुई वर्ष नहुँदै दलभित्रैबाट प्रधानमन्त्रीलाई विस्थापित गराउने कसरत सुरु भयो। सायद, संविधानमा दुई वर्षको प्रावधान हुँदैनथ्यो भने सरकार गठनदेखि नै यो खेल सुरु हुन्थ्यो होला।
औपचारिक र कानुनी रूपमा हालसम्म सरकारलाई समर्थन जारी रहेको भए पनि, सरकार गठनको दुई वर्ष नपुग्दै बहुमत सांसदको समर्थन गुमाइसकेको कुरा पनि सत्य हो। यसरी पार्टीभित्रै विद्रोह भइसक्दा जबरजस्ती अडिएको सरकारलाई टिकेको भन्न मिल्दैन। यसलाई त अहिले मधेसी दलको टेको लगाएर थेगिएको छ। अर्थात्, ढल्यो ढल्यो को स्थितिमा छ। चालु राजनीतिक घटनाक्रमले नेपालमाकुनैपनि सरकार पूर्ण कार्यकाल सरकारमा टिक्न सक्दैन वा टिक्न दिइँदैनभन्ने प्रश्न चिन्ह खडा गरेको छ।२०४६ देखि २०७८ सम्म आइपुग्दा ३२ वर्ष बित्यो। तर यो अवधिमा देशमा कहिल्यै स्थिर सरकार देखिएन। २०४८ देखि अहिलेसम्म देशमा ६ पटक संसदीय निर्वाचन भइसक्यो तर कहिल्यै पनि सरकारले कार्यकाल पूरा गर्न पाएन।
२०४८, २०५६ र २०७४ गरी तीनपटकका निर्वाचनमा प्रस्तावित प्रधानमन्त्रीले स्पष्ट बहुमत पाए। तर तीनैपटक बनेका प्रधानमन्त्रीले बाध्य भएर पद त्याग गर्नुपर्यो। तीनैपटक एउटा अनौठो र नेपालीका लागि निकै दुःखलाग्दो संयोग रह्यो। हरेकपटक प्रधानमन्त्रीलाई पदबाट हट्न बाध्य पार्ने काम पार्टीकै सहकर्मीबाट भयो। के यो संयोग मात्रै थियो? २०१५ को निर्वाचनमा दुईतिहाइ बहुमत पाएका प्रधानमन्त्री वीपी कोइरालालाई राजाले हटाएर पञ्चायती व्यवस्था लागू गराएका थिए। त्यसलगत्तै पञ्चायती व्यवस्थाविरुद्ध भूमिगत संघर्ष सुरु भए। ती संघर्षले देश र जनताको हितका लागि बहुदलीय व्यवस्था हुनुपर्ने अभियान अगाडि बढाए। बहुदलका पक्षमा जनतालाई संगठित पारे र अन्ततः पञ्चायत फाले। पञ्चायत फाल्न बहुदलीय व्यवस्थाका पक्षधरलाई ३० वर्ष लाग्यो।
३० वर्षपछि पञ्चायत गयो, बहुदल आयो। आजका मितिसम्म आइपुग्दा बहुदलीय व्यवस्था लागू भएको समय पञ्चायती व्यवस्था कायम रहेको समयभन्दा धेरै भइसकेको छ। तर, पञ्चायतको अवधिभन्दा धेरै शासन गरिसक्दा पनि बहुदलको वकालत गर्नेहरूले एउटा पनि स्थिर सरकार दिन सकेनन्, किन ?बहुदलीय व्यवस्थामा भएका विकासका काम किन पञ्चायतकालमा भएका विकासका कामसँग तुलना गर्न पनि लाजमर्दो अवस्थामा छन् ?संसार आधुनिकीकरणमा गएको यत्रो वर्ष भइसक्दा पनि नेपालले विकासका क्षेत्रमा एक फड्को पनि मार्न नसक्नु लाजमर्दो कुरा नै हो। हो, नेपाल पहिलेदेखि नै विदेशी शक्तिको क्रिडास्थल थियो।बीचमा विदेशी हस्तक्षेप केही कमी आएको कुरा पनि सत्य हो। तर, अहिले पुनः हस्तक्षेप बढेर गएको छ। अर्थात् चरम सीमा नाघ्न थालेको छ। पञ्चायतको विरोध र बहुदलको समर्थनमा जतिसुकै बुर्कुसी मारे पनि विदेशी हस्तक्षेपमा कमीपञ्चायतकालमै आएको हो। बहुदल आएसँगै त्यो फेरि बढेको छ। बढ्दो विदेशी चलखेलकै कारण हाम्रो देशमा राजनीतिक अस्थिरता निम्तिएको कुरा कसैबाट लुकेको छैन।
हिजो आज देशको राजनीतिमा विदेशीहरूले हालिमुहाली गर्न थालेका छन्। उनीहरूआफू अनुकूलको सरकार बनाउन चाहन्छन्। नेपालको रिमोर्ट हातमा लिएर इसारामा नचाउन चाहन्छन्। ताकि हाम्रो नीति उसका लागि फाइदाजनक होस्।उसलाई अप्ठेरो पार्ने गरी हाम्रो सरकारले कुनै नीति वा निर्णय गरेमा यहाँका नेताहरूलाई उचाल्ने र पछार्ने काम सुरु हुन्छ। पछिल्लो समय भएको पनि त्यही नै हो।झन्डै दुईतिहाइ बहुमतको सरकार सानो चोटले ढल्दैनथ्यो। त्यसका लागि सत्तारुढ दलबाट पूर्वमाओवादीसहित माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरूको गुटलाई समेत विद्रोह गराइयो। पछि सरकारले पार्टी एकीकरण नै बदर गरिदिएपछि पूर्वमाओवादी त स्वतः अलग्गियो तर नेपाल गुटले फर्किने सुरसार अझैसम्म गरेको छैन।
नेपालजस्तो व्यक्तित्व आज आफ्नै दलको सरकारविरुद्ध विद्रोह गर्नुको पछाडि के कारण हुन सक्ला ?उनको चित्त के कुरामा नबुझेको हो? उनको कुन इच्छालाई पर्दा पछाडिको कुन तत्त्वले चित्त बुझाएर उकासेको हो? विषय निकै गम्भीर छ।यदि यस्तो नभए आफूले कैयौं दशक बिताएको पार्टीलाई भताभुंग पार्नेगरी उनी किन विपक्षीको तालमा नाचिरहेका छन् ? नेपाल यत्तिकै राजनीतिक जीवनको उतराद्र्धमा बिनास्वार्थ बिनालोभ, बिनाडरत्रास विद्रोही बनेको पक्कै होइन होला।उनीहरूको महत्त्वकांक्षा कसैले पूरा गरिदिने वा गरिदिएको हुनाले नै यो विद्रोह भएको हुन सक्छ। केही नेताकार्यकर्ता जो उनकै पुच्छर समाएर लागिरहेका छन्, के होला उनीहरूको भविष्य ? तिनलाई भ्रममा नपर्न कसले सम्झाइदिने?
नेपालले अहिले प्रचण्डको साथ पाइरहेका छन् जो पार्टीका व्यक्ति होइनन्। नेकपाभन्दा अगाडि उनको एउटा छुट्टै पार्टी थियो। यी दुई लामो समयसम्म एउटै संगठनमा बसेर काम गरेका व्यक्ति पनि त होइनन्। समय, परिस्थिति, अदालतको फैसला र निर्वाचन आयोगको निर्णयले नेकपा नामको दल कायम नरहँदा उनले छुट्टै दल, छुट्टै संगठन र पहिचान लिएर निस्किनु र विरोध गर्नु स्वाभाविकनै हो। प्रचण्ड त अहिले आफ्नै घरमा फर्किएका हुन्। उनी त्यसको अध्यक्ष पनि हुन्। उनका अगाडि प्रशस्त बाटाहरूपनि छन्। उनी त अब कांग्रेससँग मिल्न जान पनि सक्लान्। किनभने यसअघि पनि प्रचण्ड केपी ओलीलाई हराउन कांग्रेससँग गठबन्धन गरेर चुनावमा गएको जगजायर नै छ।
तर अब माधव नेपाल कहाँ जान्छन् ? एमाले उनको घर हो, छुट्टै पार्टी भनेको छिमेकी हो। छिमेकीको हामीसँग जस्तो सम्बन्ध हुन्छ उस्तै सम्बन्ध त्यो छिमेकीको अर्को तेस्रो छिमेकीसँग पनि हुन सक्छ।कहिले एउटा छिमेकी त कहिले अर्को छिमेकीसँग सम्बन्ध नजिकको हुन्छ। प्रचण्ड पनि पहिले एमालेसँग नजिकिएका थिए अब कांग्रेसनजिक जालान्। कांग्रेससँग मिल्ने वा गठबन्धन गर्न पुग्लान्। जसपा नेता बाबुराम भट्टराई र उपेन्द्र यादव पनि कांग्रेसकै गठबन्धनमा जालान्। अझ जसपा नामको गठबन्धनबाट पूर्वराजपा अलग भई ओली नेतृत्वको सरकारमा सामेल हुन आइसकेको छ। यी सबै एक गाउँका छिमेकीहरू हुन्। उनीहरूको आफ्नै स्वार्थ छ। भइरहेका घटनाले सबैको स्वार्थ छर्लंगै देखाउँछ।
नेपालको हकमा भने त्यसो सोच्न सकिन्नँ किनकि एमाले उनको परिवार हो। अहिले उनी एउटा छिमेकीको पछि लागेर घरमा रडाको मच्चाइरहेका छन्। भोलि त्यो छिमेकीले उनलाई धोका दियो भने उनी न घरको न घाटको हुने निश्चित नै छ। एउटा छिमेकीको लहैलहैमा लागेर आफ्नै परिवार फुटाउने गतिविधि हुन थाले भनेपछि त्यसबारे सोच्नैपर्ने हुन्छ– विद्रोहीलाई कसैले कहीँबाट पक्कै उचालिरहेको छ। खासमा नेपाल के स्वार्थका लागि विद्रोह गरिरहेका छन् ? छिमेकीको इशारामा। यिनलाई विद्रोह गर्न कसले बाध्य बनाइरहेको छ? दलकै नेता केपी ओलीभन्दा अर्कोदलको नेता वा सो नेताको प्रधानमन्त्री यिनलाई किन प्यारो भइरहेको छ ? किन यिनले अर्को दलको नेतालाई प्रधानमन्त्रीमा रोजेर हस्ताक्षर गर्दै हिँडे? किन घरमा फुटको आगो झोसिरहेका छन् ?
कुनै समय एउटा पार्टीको सदस्य भएको व्यक्तिले पार्टीकै दासत्व स्विकानुपर्छ भन्दै हिँड्ने व्यक्तिले दलकै अध्यक्षविरुद्ध मोर्चाबन्दी गर्दै हिँड्दा लाज लाग्नुपर्ने हो। उनले जुन कार्य गर्दै हिँडिरहेका छन्, एक वर्षसम्म उनी यो कार्यलाई पाप भन्थे। एक वर्ष पहिले दिएको त्यो अन्तर्वार्तामा उनले भनिरहेका छन्, ‘पार्टीभित्र अन्तर्घात गर्न पाइँदैन। पार्टीको अनुशासन मान्ने हो भने पार्टीको निर्णयलाई मान्नुपर्छ। जस्तो नालायकलाई चुनावमा उठाए पनि जिताउनु पर्छ। हैन भने उसले पार्टीको सदस्यता त्याग्नुपर्छ। कम्युनिष्ट पार्टीको सदस्य बन्नु छ भने पार्टीको दासत्व स्विकार गर्नुपर्छ त्योभन्दा अन्य विकल्प छैन।’ यस्तो अभिव्यक्ति दिँदै हिँडेका माधवकुमार नेपालआज पार्टीकै निर्णयविरुद्ध गएर आफ्नै अध्यक्षको कुर्सी ढलाउनलाई हस्ताक्षर गर्दै हिँड्दा कस्तो लाज नलागेको ?
आफूलाई पर्दा सबै ठिक अरूलाई पर्दा बेठिक भन्ने पनि हुन्छ त ? उनले एकान्तमा बसेर मूल्यांकन गर्नुपर्ने हो। यदि प्रधानमन्त्रीको ठाउँमा उनी भएर उनले गरेको हर्कत ओलीले गरेको भए उनी के गर्थे ?यहाँ त उनले एकपटक होइन बारम्बार पार्टीको निर्णयको अवमूल्यन गरेका छन्। त्यो बादलविरुद्ध मतदान गरेर होस् वा सूदुरपश्चिमको सरकारलाई जोगाउन पक्षमा भोट हालेर। यो तहको नेताले राजनीतिमा विद्रोह गर्दा र फोहोरी खेल निम्त्याउँदा सामान्य नागरिकलाई पनि स्वाभाविक लाग्न सकेको छैन।राजनीतिमा आफू भएको पार्टीको नेतृत्व, नीति चित्त नबुझे वैधानिक तरिकाले सुधारको बाटोमा जाने हो।
सुधार गर्न सकिएन, पार्टी नै चित्त बुझेन भने पहिला त्यो पार्टी त्याग गर्ने। सके पार्टी विभाजन गरेर अर्को पार्टी बनाउने, नसके पार्टी नै त्यागेर हिँड्ने हो। त्यसपछि त मनमा लागेको गर्न उ स्वतन्त्र हुन्छ नै। तर, पार्टीमा रहेर चरित्रहीन काम गर्न नेपाललाई छुट छैन। पार्टी त्याग्न नसक्ने, पार्टीभित्र छलफल चलाउन नसक्ने बरु अर्कै पार्टीको ‘फुलटाइमर’ कार्यकर्ताजस्तो व्यवहार गर्ने तर पार्टीको पदमा पनि टाँसिइरहने व्यवहार लज्जाजनक हुन्छ।
कुनै पनि दलका नेताहरूले अब यस्तो विद्रोही गतिविधि नगर्ने र राजनीतिका फोहोरी खेलमा सामेल नहुने जमसमक्ष सामूहिक प्रण नगरेसम्म कुनै व्यवस्था ल्याएपनि, जस्तै राम्रो संविधान र कानुन बनाएपनि राजनीतिमा स्थायित्व आउन र नेपाली जनताले देख्न पाउने छैनन्। बहुदलीय व्यवस्था छ भनेर के गर्नु ? आफ्नै पार्टीका नेता कार्यकर्ता पार्टीको नेतृत्व विपरीत जान्छन् भने त्यो व्यवस्था नै खतरामा छ। यदि हामी सबै बहुदलीय व्यवस्था चाहन्छौं भने यस्तो तत्त्वलाई निरुत्साहन गर्नु जरुरी छ।अन्नपूर्णबाट


