Saturday, July 4, 2026
Homeखेलकुदअर्जेन्टिनाको संघर्षपूर्ण जित, केप भर्डलाई हराउँदै अन्तिम १६ मा प्रवेश

अर्जेन्टिनाको संघर्षपूर्ण जित, केप भर्डलाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौं। साविक विश्वविजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक खेलमा केप भर्डलाई ३–२ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता लिए पनि केप भर्डले पुनः बराबरी गर्दै खेललाई थप रोमाञ्चक बनाएको थियो। अन्ततः आत्मघाती गोलका कारण अर्जेन्टिनाले कठिन जित हात पार्न सफल भयो।

अर्जेन्टिनाका लागि खेलको २९औँ मिनेटमा कप्तान लियोनेल मेसीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर ५९औँ मिनेटमा डेराए डुआर्टेले गोल गर्दै केप भर्डलाई १–१ को बराबरीमा ल्याए।

अतिरिक्त समयको दोस्रो मिनेट (९२औँ मिनेट) मा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। तर १०३औँ मिनेटमा सिड्नी लोपेज काब्रालले शानदार गोल गर्दै केप भर्डलाई फेरि २–२ को बराबरीमा पुर्‍याए।

खेल निर्णायक मोडमा पुगेका बेला १११औँ मिनेटमा केप भर्डका डिनेबाट भएको आत्मघाती गोल अर्जेन्टिनाका लागि निर्णायक बन्यो। त्यसपछि बाँकी समयमा अर्जेन्टिनाले अग्रता जोगाउँदै ३–२ को संघर्षपूर्ण जित दर्ता गर्‍यो।

विश्वकपमा पहिलोपटक सहभागी भएको केप भर्डले साविक विश्वविजेता अर्जेन्टिनाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै कडा चुनौती दिए पनि अन्ततः प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।

यस जितसँगै अर्जेन्टिनाले अन्तिम १६ मा स्थान बनाएको छ, जहाँ उसले इजिप्टसँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका