काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले जानकारी दिएका छन्।
यसअघि १२ वर्षसम्म बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्था रहेकामा नयाँ अध्यादेशमार्फत उक्त अवधि घटाइएको छ। भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिलाई लक्षित गर्दै सरकारले करिब ४५ दिनसम्म बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने गरी ऐन संशोधन गरेको हो।
अध्यादेश जारी भएसँगै विपद्मा बेपत्ता भएका व्यक्तिको कानुनी अवस्था निर्धारण गर्न लाग्ने समय घट्ने अपेक्षा गरिएको छ।