काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल आगामी कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाने भएको छ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल चीन जान लागेको हो।
रास्वपाका प्रवक्ता जगदीश खरेलले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा नेपाल र चीनका दुई राजनीतिक दलबीच आपसी अनुभव आदानप्रदान हुनेछ।
भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायतका विषयमा छलफल हुने जनाइएको छ।
रास्वपा र चिनियाँ कम्युनिस्ट पार्टीले यस भ्रमणलाई दुई देशबीच आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्य थप सुदृढ र विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएका छन्।
महामन्त्री आचार्यको नेतृत्वमा चीन जाने प्रतिनिधिमण्डलमा गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेश कुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनम कुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पा कुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा रहेका छन्।
रास्वपाले भ्रमणलाई दुई देशका राजनीतिक दलबीच सम्बन्ध विस्तार, अनुभव आदानप्रदान तथा विकासका विषयमा सहकार्य गर्ने अवसरका रूपमा लिएको छ।