बिचौलियाको बयानकै आधारमा नेतामाथि आरोप लगाउनु गलत : विश्वप्रकाश शर्मा

बिचौलियाको बयानकै आधारमा नेतामाथि आरोप लगाउनु गलत : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्ने प्रयास भइरहेको बताएका छन् ।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालमा सार्वजनिक हुने अपुष्ट आरोप र अफवाहका आधारमा कसैप्रति पनि धारणा बनाउन नहुने बताए ।

पूर्वसभापति शेरबहादुर देउवाको टिप्पणीप्रति लक्षित गर्दै शर्माले बिचौलियाले भन्दैमा नेताहरूले करोडौँ रुपैयाँ लिएको निष्कर्ष निकाल्नु गलत भएको बताए ।

उनले भने, ‘एउटा बिचौलियाले कहीँ भन्यो अरे । त्यसैका आधारमा यति खायो रे, उति बुझायो रे, यति करोड बुझायो रे भनेर फेसबुकमा लेखेर हुन्छ ?’

शर्माले आफू र सभापति गगन थापालाई जोडेर करोडौँ रुपैयाँ बुझाएको भन्दै लगाइएका आरोपको पनि खण्डन गरे । गगन थापा आफ्नो जीवनमा थोरै समय मात्रै मन्त्री बनेको र आफू सांसद मात्रै भएको उल्लेख गर्दै उनले आधारहीन आरोपको कुनै औचित्य नभएको बताए ।

बिचौलियाको भनाइलाई प्रमाणका रूपमा लिन नहुने तर्क गर्दै उनले बैंक डकैतीमा पक्राउ परेको व्यक्तिले कसैको नाम लिँदैमा त्यसलाई अदालतले प्रमाण नमान्ने दृष्टान्त प्रस्तुत गरे ।

कांग्रेसको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सबै प्रक्रिया पार्टीको विधि, विधान, संविधान र कानुनअनुसार इमानदारितापूर्वक सम्पन्न भएको शर्माले दाबी गरे । राष्ट्रिय आवश्यकता र बदलिँदो परिस्थितिअनुसार पार्टीलाई नयाँ ढङ्गले अघि बढाइने उनको भनाइ थियो ।

महामन्त्री गगन थापाको नेतृत्वमा कांग्रेस योजनाबद्ध रूपमा अघि बढिरहेको उल्लेख गर्दै उनले पार्टीलाई चुस्त र व्यवस्थित बनाउन नेता तथा कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमको अन्त्यमा शर्माले काभ्रेका नेता तथा कार्यकर्तालाई संगठनको जग बलियो बनाउन आग्रह गरे । अनावश्यक तनाव नलिई अध्ययन, मेहनत र उच्च आत्मविश्वासका साथ संगठन निर्माणमा जुट्न पनि उनले निर्देशन दिए ।

लिङ्क सफलतापूर्वक कापि गरियो!