हुम्लामा तुइन विस्थापित गरी झोलुङ्गे पुल बनाउने हर्क साम्पाङको प्रतिबद्धता

हुम्लामा तुइन विस्थापित गरी झोलुङ्गे पुल बनाउने हर्क साम्पाङको प्रतिबद्धता

हुम्ला । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकलाई पनि समान रूपमा राज्यका सेवासुविधा उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।

अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी हुँदै उहाँले शिक्षा, स्वास्थ्य, यातायातलगायत आधारभूत सेवासुविधाको असमान वितरणका कारण ग्रामीण क्षेत्रका नागरिक प्रभावित भएको बताउनुभयो ।

राज्यले उपलब्ध गराउने सेवासुविधा सहर केन्द्रित हुँदा ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको उहाँको भनाइ थियो । सबै क्षेत्रमा आवश्यक सेवासुविधा उपलब्ध गराउन सके नागरिक जुनसुकै ठाउँमा पनि बस्न सक्ने उहाँले बताउनुभयो ।

सो अवसरमा साम्पाङले तुइनबाट नदी तर्नुपर्ने स्थानीयको बाध्यता अन्त्य गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । उहाँको हुम्ला भ्रमण सर्केगाड गाउँपालिका–२ स्थित खडीखेतमा कर्णाली नदीमाथि झोलुङ्गे पुल निर्माण गर्ने विषयसँग जोडिएको बताइएको छ ।

उक्त स्थानमा स्थानीय नागरिक जोखिम मोलेर तुइनको सहायताले नदी पार गर्न बाध्य भएको विषय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि साम्पाङले झोलुङ्गे पुल निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

उक्त स्थानमा पुल निर्माणका लागि कादुरी नामक गैरसरकारी संस्थामार्फत काम अघि बढाउने प्रक्रिया तय भइसकेको छ । यद्यपि, पुल निर्माणको वास्तविक अवस्था, काम सुरु हुने समय र स्थानीयले तुइनबाट नदी तर्नुपर्ने बाध्यता कहिलेसम्म अन्त्य हुन्छ भन्ने विषय चासोको केन्द्रमा छ ।

दुर्गम हिमाली जिल्ला हुम्लामा सडक, पुल तथा आधारभूत सेवासुविधाको अभावका कारण स्थानीय नागरिकले वर्षौँदेखि विभिन्न समस्या भोग्दै आएका छन् ।

लिङ्क सफलतापूर्वक कापि गरियो!