काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीहरूको मतगणना प्रभावित भएको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा ढिला गरी सुरु भएको मतगणना सिल नगरिएको मतपेटिका भेटिएपछि उत्पन्न विवादका कारण प्रभावित भएको हो ।
पहिलो चरणमा उपसभापति र महामन्त्री पदको मतगणना गर्ने तयारी गरिएको थियो । तर, मतगणना सुरु गर्ने क्रममा मधेस प्रदेशको सिल नगरिएको मतपेटिका भेटिएपछि विवाद उत्पन्न भएको हो ।
समावेशीतर्फका उपसभापति पदका उम्मेदवार रञ्जित कर्णले मतपेटिकामा सिल नरहेको र मुचुल्कासमेत नगरिएको पाइएको बताए ।
उनले रातोपाटीसँग भने, ‘मधेस प्रदेशको सिल नगरेको बाकस भेटियो । त्यसमा मुचुल्का नगरेको पाइयो । त्यसमा विवाद भएपछि मतगणना अहिले प्रभावित बनेको छ ।’
सभापति पदको मतगणना यसअघि नै सम्पन्न भइसकेको छ । गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन् भने वरिष्ठ उपसभापति पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।