सडक सुधारका लागि एडीबीको ३०५ मिलियन डलर सहायता स्वीकार गर्ने सरकारको निर्णय

सडक सुधारका लागि एडीबीको ३०५ मिलियन डलर सहायता स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा सरकारको थप हकप्रद सेयर लगानी गर्न सहमति दिने निर्णयसमेत गरेको छ।

बैठकले नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री वितरण हुने जैविक एवं प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने निर्णय गरेको छ। साथै, मल नियन्त्रण आदेश, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, मोही लागेको जग्गाको जग्गावाला र मोहीबीच जग्गा बाँडफाँट गर्न निवेदन दिने अवधि २०८५ कात्तिकसम्म तथा बाँडफाँटसम्बन्धी प्रक्रिया टुङ्ग्याउने अवधि २०८६ असार मसान्तसम्म थप गर्ने निर्णय भएको छ।

मन्त्रिपरिषद्ले टर्किएको आन्ताल्यामा २०८३ कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णयसमेत गरेको छ।

यसैगरी, प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!