काठमाडौं । धार्मिक विषयवस्तुलाई गलत ढङ्गले प्रस्तुत गरिएको भन्दै विवादमा परेको नेपाली चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृहमन्त्रीले सूचना तथा सञ्चार मन्त्रालयलाई अनुरोध गरेका छन्।
चलचित्रमा समावेश केही दृश्यलाई लिएर सामाजिक सञ्जाल तथा धार्मिक क्षेत्रबाट चर्को आलोचना भएपछि गृह मन्त्रालयले यस्तो कदम चालेको हो।
सञ्चार मन्त्रालयका एक कर्मचारीका अनुसार गृहमन्त्रीले तत्कालका लागि चलचित्रको प्रदर्शन रोक्न मौखिक निर्देशन दिएका छन्। ती कर्मचारीले भने, ‘अहिलेलाई प्रदर्शन रोक्नु भनेर मौखिक खबर आएको छ। यस विषयमा भोलि औपचारिक प्रक्रिया अगाडि बढ्छ।’
यद्यपि, चलचित्रका कलाकार हरिवंश आचार्यले भने मन्त्रालयबाट चलचित्र निर्माण टोलीलाई अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताएका छन्।
चलचित्रमा हिन्दु धर्मग्रन्थकी पात्र द्रौपदीलाई बारमा नचाइएको लगायतका दृश्य समावेश गरिएको भन्दै विरोध भइरहेको छ। पाँच पाण्डव र द्रौपदीको चरित्रलाई गलत रूपमा चित्रण गरिएको आरोप लगाउँदै हिन्दु धर्मसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले सञ्चार मन्त्रालयमा ज्ञापनपत्र बुझाएर प्रदर्शन रोक्न माग गरेका थिए।
यसै महिनाको २० गतेदेखि देशभर प्रदर्शनमा ल्याउने तयारी गरिएको चलचित्रमा वरिष्ठ कलाकार हरिवंश आचार्य, आर्यन सिग्देल र जितु नेपाललगायतको मुख्य भूमिका रहेको छ।