कमेडी दरबारबाट अलगिँदै कलाकार, धमाधम आउँदै नयाँ शो

कमेडी दरबारबाट अलगिँदै कलाकार, धमाधम आउँदै नयाँ शो

काठमाडौँ । लामो समयदेखि टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’मा देखिँदै आएका हास्यकलाकार पवन खतिवडा ‘म्याकुरी’ले शो छाडेको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आगामी नयाँ सिजनमा आफू सहभागी नहुने जानकारी दिएका हुन्।

‘कमेडी दरबार’मार्फत स्ट्यान्डअप कमेडी गर्दै दर्शकलाई मनोरञ्जन दिँदै आएका खतिवडाले शो छाड्नुको ठोस कारण भने खुलाएका छैनन्। यद्यपि, उनी आफ्नै नयाँ कमेडी शो ‘ज्वाइँसाब २’ ल्याउने तयारीमा रहेको बताइएको छ। सामाजिक सञ्जालमा उनले दिएका संकेतले पनि यसैलाई पुष्टि गर्ने देखिन्छ।

पवन मात्र होइन, पछिल्लो समय नेपाली कमेडी क्षेत्रका कलाकारहरू आफ्नै छुट्टाछुट्टै शो ल्याउन सक्रिय भएका छन्। कमेडी च्याम्पियनबाट चर्चामा आएका सुन्दर खनालले ‘कमेडी बाज’ नामक शो सञ्चालनमा ल्याएका छन्। ‘कमेडी दरबार’मा लामो समय प्रस्तुति दिएपछि उनले नयाँ शो सुरु गरेका हुन्।

नेपालको पहिलो रोस्ट ब्याटल शो भएको दाबी गरिएको ‘कमेडी बाज’ सुन्दर खनाल र तपस्या राणाले सञ्चालन गर्दै आएका छन्। शोमा प्रेम विश्वकर्मा, वर्षा तारा र सन्तोष खनाललगायत कलाकार देखिँदै आएका छन्। कार्यक्रममा मनोरञ्जनसँगै सामाजिक विकृतिमाथि व्यङ्ग्यसमेत गरिन्छ।

त्यस्तै, कमेडी च्याम्पियनका पहिलो सिजनका विजेता हिमेश पन्त र तेस्रो सिजनका विजेता सुनिल खड्काले संयुक्त रूपमा ‘हल्ला खल्ला विथ हिमेश’ नामक नयाँ शो ल्याएका छन्।

‘कमेडी दरबार’मा लामो समय प्रस्तुति दिएका हिमेशले शो छाडेर नयाँ कार्यक्रम सुरु गरेका हुन्। कार्यक्रममा हिमेश र सुनिलसँगै प्रेम विश्वकर्मा र अमरेन्द्र यादवले प्रस्तुति दिँदै आएका छन्। हालसम्म चार भाग प्रसारण भएको शोमा अन्तर्वार्ता र कमेडीलाई एउटै ढाँचामा प्रस्तुत गरिएको छ।

यसैबीच, कमेडी च्याम्पियनका प्रतियोगी बिक्की अग्रवालले सञ्चालन गर्दै आएको ‘कमेडी दरबार’ तेस्रो सिजनको तयारीमा छ। दुई सिजन पूरा गरिसकेको शोमा सीडी विजय अधिकारी, विश्वास तिम्सिना (बीटी कान्छा), विकास अर्याल, पवित्र शङ्की, सुजाता श्रेष्ठ, सुन्दर खनाल, पवन खतिवडा, सन्तोष थापा, खड्गबहादुर पुन मगर, दिनेश काफ्ले र सुजन जिम्बालगायत कलाकारले प्रस्तुति दिँदै आएका छन्। तेस्रो सिजनमा केही पुराना र नयाँ कलाकार रहने बताइएको छ। शोका निर्णायकमा गौरी मल्ल, मनोज गजुरेल र दीया मास्केलगायत छन्।

अर्का हास्यकलाकार दिनेश काफ्ले पनि ‘मिमिक्री किङ’ नामक नयाँ शो ल्याउने तयारीमा छन्। विभिन्न कार्यक्रममा मिमिक्री गर्दै आएका काफ्लेले यसलाई नक्कल गर्ने प्रतिस्पर्धात्मक कार्यक्रमका रूपमा प्रस्तुत गर्न लागेका हुन्। अहिले कार्यक्रमका लागि स्टुडियो निर्माण भइरहेको उनले बताएका छन्।

‘मेरो शो तिहारपछि मात्र ल्याउने योजना बनाएको छु। अहिलेसम्मकै भिन्न र फरक बनाउने तयारी भइरहेको छ,’ काफ्लेले भनेका छन्।

त्यसैगरी, कमेडी च्याम्पियनका निर्माता तथा निर्देशक विशाल भण्डारीले ‘कमेडी विथ च्याम्पियन’ सञ्चालन गर्दै आएका छन्। यस कार्यक्रममा भरतमणि पौडेल, सुमन कार्की, सुमन कोइराला, सज्जन श्रेष्ठ, मेक्सम गौडेल र कर्मा लामालगायत कलाकार देखिँदै आएका छन्।

किन आउँदैछन् कमेडियनका छुट्टाछुट्टै शो?

कुनै समय एउटै मञ्च र एउटै कार्यक्रममा सँगै देखिने कलाकारहरू अहिले आफ्नै छुट्टाछुट्टै शो सञ्चालन गर्न थालेका छन्। यसलाई कतिपयले कमेडी क्षेत्रको विभाजनका रूपमा व्याख्या गरे पनि यस क्षेत्रका कलाकार तथा निर्माताहरू भने बजार विस्तारको संकेतका रूपमा लिन्छन्।

कमेडी च्याम्पियनका निर्माता तथा निर्देशक विशाल भण्डारी यसलाई सकारात्मक परिवर्तन मान्छन्। उनका अनुसार एउटै कार्यक्रममा सबै कलाकारलाई समेट्न सम्भव हुँदैन। करिअर बनाइसकेका कलाकारहरूले आफ्नै कार्यक्रम सुरु गर्नु स्वाभाविक प्रक्रिया हो।

पहिले कमेडी शोका लागि सीमित विकल्प रहे पनि अहिले धेरै कार्यक्रम सञ्चालनमा आएका छन्। यसले विज्ञापनदातालाई विकल्प दिएको र कलाकारका लागि काम गर्ने अवसर बढाएको भण्डारीको भनाइ छ।

‘हामीले नयाँ कलाकार जन्माउने जिम्मेवारी पाएका छौँ। कमेडी च्याम्पियनबाट निस्किएका पाँचदेखि सात जना कलाकार अहिले बजारमा छाएका छन्। उनीहरूको प्लेसमेन्टका लागि पनि धेरै शो आवश्यक छन्,’ उनले भने।

कमेडियन हिमेश पन्त पनि छुट्टाछुट्टै शो आउनुलाई कमेडी बजार विस्तार भएको मान्छन्। उनका अनुसार कलाकारको आयस्रोत बढ्नु र व्यावसायिक स्वतन्त्रता पाउनु आवश्यक छ।

कलाकारले आफ्नो क्षमताअनुसार राम्रो सामग्री दिन सके बजारले नै स्थान दिने पन्तको भनाइ छ। विज्ञापन बजारमा प्रतिस्पर्धा बढे पनि यसले समग्र कमेडी क्षेत्रको बजार विस्तारमा सहयोग पुर्‍याएको उनले बताए।

अर्का कमेडियन सुन्दर खनाल पनि कमेडी क्षेत्रको विकेन्द्रीकरणले नयाँ सम्भावना सिर्जना गरेको बताउँछन्। उनका अनुसार कमेडी च्याम्पियनले कलाकारलाई छुट्टै पहिचान र स्टार बन्ने अवसर दिएको छ।

‘कमेडीबाट पनि स्टार बन्न सकिन्छ भन्ने कुरा कमेडी च्याम्पियनले प्रमाणित गरिदियो। अब एउटा कलाकार एउटा शोमा मात्र सीमित हुनुपर्दैन,’ खनाल भन्छन्।

कलाकारले छुट्टै शो वा पोडकास्ट सुरु गर्दा आफूहरूले सहकार्य र समर्थन गर्ने गरेको उनको भनाइ छ। यसले कलाकारको आम्दानी र दर्शकमाझ पहुँच दुवै बढाउने उनी बताउँछन्।

नेपाली कमेडी क्षेत्रमा देखिएको यो परिवर्तनले कलाकारलाई आफ्नै ब्रान्ड निर्माण गर्ने अवसर दिएको छ। एउटै मञ्चमा सीमित नरही फरक शैली र विषयवस्तुका कार्यक्रम आउन थालेपछि दर्शकले पनि विविध सामग्री हेर्न पाउने भएका छन्। यसले नेपाली मनोरञ्जन उद्योगमा स्वस्थ प्रतिस्पर्धा बढाउँदै कमेडी क्षेत्रलाई थप व्यावसायिक र फराकिलो बनाउने अपेक्षा गरिएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!