काठमाडौं । भुवन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बाटुलो जुन’को पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको छ। युग भुसालको शब्द तथा संगीत रहेको गीतमा तृषा चटर्जी र हिमांशु जान शर्माको स्वर छ। गीतको भिडियोमा विक्रम स्वारले कोरियोग्राफी गरेका छन्।
चलचित्र निर्माणमा भव्यता र गीतको प्रस्तुतिमा विशेष ध्यान दिने निर्देशक भुवन केसीले यस गीतमा पनि आफ्नो पुरानो शैलीलाई निरन्तरता दिएका छन्। गीतको अडियो श्रुतिमधुर छ भने भिडियो पनि आकर्षक ढङ्गले तयार पारिएको छ। सामान्यतः चलचित्रका गीतले मनोरञ्जन प्रदान गर्ने भए पनि ‘मेरो मन चोर्यौ सुटुक्कै’को भिडियोले चलचित्रको टिजरमा प्रस्तुत कथावस्तु र परिवेशलाई थप अगाडि बढाउने प्रयास गरेको छ।
गीतमा देखिने खोला किनार, घुम, डन्डिबियो र मकैबारीजस्ता दृश्यले दर्शकलाई पुरानो समयको ग्रामीण परिवेशमा पुर्याउँछन्। गीतमा चलचित्रका मुख्य कलाकार अनमोल केसी र नवअभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन्।
चलचित्रको टिजरमा अनमोलको लुक सार्वजनिक भएपछि धेरैले उनलाई उनका पिता भुवन केसीको झल्को दिने प्रतिक्रिया दिएका थिए। गीतमा अनमोलको अभिनय शैली, हाउभाउ र प्रस्तुतिले उक्त धारणालाई थप बल पुर्याउने देखिन्छ। उनका केही अदाले भुवन केसीका पुराना चलचित्रका गीतहरूको सम्झना गराउँछन्।
यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेकी प्रिन्सी खतिवडाले पनि आफ्नो अभिनय क्षमता र आकर्षक प्रस्तुतिको झलक दिएकी छन्। गीतका विभिन्न भावअनुसार उनले प्रस्तुत गरेका हाउभाउ र अभिव्यक्तिले पुरानो समयकी अभिनेत्री कृष्टि केसीको सम्झना गराउँछन्।
भुवन केसीको दोस्रो निर्देशकीय चलचित्रका रूपमा रहेको ‘बाटुलो जुन’मा भुवन केसी र गरिमा पन्तको पनि अभिनय छ। सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको चलचित्र आगामी कार्तिक २६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउनेछ।
चलचित्रको छायांकन राजेश श्रेष्ठले गरेका हुन् भने सम्पादन कृष्ण भण्डारीको रहेको छ। रोमन बज्राचार्यले पाश्र्व संगीत तयार पारेका छन्। प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक रहेको चलचित्रलाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन्। विवेक थापा सह–निर्माताका रूपमा रहेका छन्।
https://youtu.be/X-FHSF8CbXA?si=nvF-HfKsL2rpNa1V