काठमाडौँ । इजरायलमा केयर गिभर पठाउने प्रकरणमा ठगीको आरोपमा पक्राउ परेकी विनिता खड्कालाई नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएको प्रमाणपत्र दिने वा नदिने विषयमा निर्वाचन समितिले छलफल गर्ने भएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित खड्का १५ जना निर्वाचित हुने व्यवस्थाअनुसार सातौँ स्थानमा रहेकी छन्। तर, उनलाई प्रमाणपत्र दिने विषयमा निर्वाचन समितिले अहिलेसम्म निर्णय गरेको छैन।
निर्वाचन समितिका सदस्यसचिव राजु कटवालले पदाधिकारी तथा केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएपछि बैठक बसेर यस विषयमा छलफल गरिने जानकारी दिएका छन्। उनले अहिले नै प्रमाणपत्र दिने वा नदिने विषयमा निष्कर्षमा पुग्न नसकिने बताए।
इजरायलमा केयर गिभर पठाउने प्रकरणमा ठगीको आरोप लागेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई पक्राउ गरेको थियो। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज २३ गते मतदान भइरहेका बेला उनलाई मतदानस्थलबाटै पक्राउ गरिएको थियो।
अदालतको आदेशपछि उनी सोमबार रिहा भएकी छन्। अदालतले उनलाई हिरासतबाहिर राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो।
खड्का केन्द्रीय सदस्यमा निर्वाचित भए पनि उनलाई निर्वाचित भएको प्रमाणपत्र दिने विषयमा निर्वाचन समितिको निर्णय आउन बाँकी छ।