काठमाडौं । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले भारतविरोधी उग्र राष्ट्रवादले नेपालको विकास सम्भव नहुने बताएका छन् । उनले छिमेकी मुलुक भारतसँगको सम्बन्ध सुधार गर्दै आर्थिक कूटनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले अर्थमन्त्री स्वर्णिम वाग्लेले केही दिनअघि भारत पुगेर दिएको ‘भारतको विरोध गरेर राष्ट्रवादी बन्ने युग सकियो’ भन्ने अभिव्यक्तिको समर्थन गरे ।
‘अर्थमन्त्रीको भनाइ बेठीक थिएन, भारतको विरोध गरेर नेपालको विकास हुँदैन,’ उनले भने, ‘उग्र राष्ट्रवाद र भारत वा चीनविरोधी भावनाले मुलुकलाई समृद्ध बनाउन सक्दैन । आजको आवश्यकता आर्थिक कूटनीति हो ।’
धमलाले भारतबाट ठूलो सङ्ख्यामा धार्मिक पर्यटक भित्र्याएर नेपालले आर्थिक लाभ लिन सक्ने धारणा पनि राखे ।
भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै उनले भ्रमणअघि सबै राजनीतिक दलसँग छलफल गरी राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताए ।
‘प्रधानमन्त्री बालेन छिट्टै भारत भ्रमणमा जाँदै हुनुहुन्छ, तर भारत जानुअघि उहाँले सबै दलका प्रमुखहरूलाई बोलाएर गहन छलफल गर्नुपर्छ,’ धमलाले भने, ‘विशेष गरी अर्थ र कूटनीतिका विषयमा स्पष्ट राष्ट्रिय सहमति बनाएर मात्र भ्रमणमा जानु उपयुक्त हुन्छ ।’
वि.सं. २००७ सालदेखि हालसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षको पूर्ण कार्यकाल काम गर्न नपाएको उल्लेख गर्दै धमलाले वर्तमान प्रधानमन्त्री बालेन शाहलाई भने पाँच वर्षसम्म काम गर्न दिनुपर्ने धारणा राखे । छिमेकी मुलुकहरूसँग सुमधुर सम्बन्ध कायम गर्दै देशलाई विकासको दिशामा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
यसैगरी, धमलाले आगामी स्थानीय तहको निर्वाचनमा गैरदलीय उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने प्रस्ताव गरे । देश विकासका लागि साझा उद्देश्य बोकेका सक्षम तथा गैरदलीय उम्मेदवार चयन गरी विजयी गराउन उनले आम नागरिकलाई आह्वान गरे ।