काठमाडौँ । दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्दै छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने भेटवार्तामा प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणको तयारी तथा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल हुने बताइएको छ।
भारतीय विदेश सचिव मिस्री बुधबार काठमाडौँ आइपुगेका हुन्। नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाल आएका उनले आगमनलगत्तै उच्चस्तरीय कूटनीतिक भेटघाट सुरु गरेका थिए।
भ्रमणका क्रममा उनले बुधबार परराष्ट्र सचिव अमृतबहादुर राईसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरेका थिए। त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेश सचिवको यस भ्रमणमा प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमण र त्यसका एजेन्डाबारे मुख्य रूपमा छलफल भइरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री शाहको यो पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हुनेछ।
प्रधानमन्त्री शाहको भारत भ्रमण नोभेम्बरको अन्तिमतिर हुने प्रस्ताव गरिएको छ। भ्रमणको मिति र अन्य तयारीबारे भारतीय विदेश सचिवको नेपाल भ्रमण सम्पन्न भएपछि औपचारिक जानकारी गराइने बताइएको छ।
प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि विदेश सचिव मिस्री आफ्नो दुईदिने नेपाल भ्रमण सम्पन्न गरी आजै नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ।