काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त) ले विभिन्न १३ मित्रराष्ट्रका लागि प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीका सम्बन्धमा उजुरीकर्ताहरूसँग छलफल गरेको छ। समितिका अनुसार प्रस्तावित राजदूतविरुद्ध चार जनाबाट सातवटा उजुरी प्राप्त भएका छन्।
समितिको बैठकमा भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि गौरवशमशेर जबराविरुद्ध परेका उजुरीका विषयमा छलफल गर्ने कार्यसूची रहेको थियो।
समितिका सभापति बोधनारायण श्रेष्ठले जापानका लागि प्रस्तावित राजदूत ज्ञानप्रसाद थापाविरुद्ध उजुरी दिएका उजुरीकर्ता उज्ज्वलकृष्ण श्रेष्ठ समितिको सम्पर्कमा नआएको जानकारी गराए। उजुरीकर्ता उपस्थित नभएकाले उनी पछि सम्पर्कमा आएमा छलफल गर्न सकिने र तत्कालका लागि उक्त विषयको प्रक्रिया अघि नबढाइएको उनले बताए।
त्यस्तै, साउदी अरबका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारविरुद्ध उजुरी दिने रमेश परियारलाई उपस्थित गराउने विषयमा पनि बैठकमा जानकारी लिइएको थियो।
भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेविरुद्ध उजुरी दिएकी अस्ट्रेलियाकी दीपा भण्डारीले आफू समितिमा उपस्थित हुन नसक्ने भन्दै आफ्नो उजुरी पढेर सुनाइदिन इमेलमार्फत अनुरोध गरेकी थिइन्। समितिले उनको इमेल प्राप्त भएको विषयलाई अभिलेखमा राख्ने जनाएको छ।
साउदी अरबका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारविरुद्ध परेको अर्को उजुरीका सम्बन्धमा उजुरीकर्ताको वारेसनामा लिएर प्रतिनिधि उपस्थित भएको विषय पनि बैठकमा उठेको थियो।
समितिले प्रस्तावित राजदूतविरुद्ध प्राप्त उजुरीमाथि सुनुवाइ प्रक्रिया अघि बढाउने क्रममा उजुरीकर्ताको उपस्थिति, अनुपस्थिति तथा इमेलमार्फत प्राप्त प्रतिक्रियाका विषयमा छलफल गरेको हो।