प्रधानमन्त्रीसँग पाँच घण्टा वार्तापछि सभामुख भेटे रवि लामिछानेले

प्रधानमन्त्रीसँग पाँच घण्टा वार्तापछि सभामुख भेटे रवि लामिछानेले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेको भोलिपल्ट सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन् ।

बिहीबार दिउँसो सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई नेताबीच करिब आधा घण्टा संवाद भएको सभामुखको सचिवालयका प्रतिनिधिहरूले जानकारी दिएका छन् ।

यसअघि बुधबार लामिछानेले प्रधानमन्त्री शाहसँग प्रधानमन्त्री निवासमा करिब पाँच घण्टा छलफल गरेका थिए । उक्त भेटमा सरकारको कामकारबाहीको समीक्षा, अध्यादेश ल्याउने तयारी, रास्वपा सांसद खगेन्द्र सुनारसँग जोडिएको विवादास्पद अडियो प्रकरण तथा इनम सापकोटासँग सम्बन्धित विषयमा छलफल भएको बताइएको छ ।

बिचौलियाको आरोपमा पक्राउ परेका सापकोटासँग प्रहरी महानिरीक्षक दानबहादुर कार्की र प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सम्पर्क तथा आर्थिक लेनदेनसम्बन्धी विवरण सार्वजनिक भएपछि यस विषयले थप चर्चा पाएको छ । ती विवरणबारे सरकारले परामर्श गरिरहेको बताइएको छ ।

प्रधानमन्त्रीसँग लामो छलफल गरेको भोलिपल्ट लामिछानेले सभामुखसँग पनि भेट गरेपछि राजनीतिक वृत्तमा यी भेटघाटको उद्देश्य र छलफलका विषयबारे चासो बढेको छ । यद्यपि, सभामुखसँगको भेटमा के–कस्ता विषयमा छलफल भयो भन्नेबारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।

लिङ्क सफलतापूर्वक कापि गरियो!