प्रधानमन्त्रीको भारत भ्रमणमा जनकपुर–अयोध्या रेल सेवा उद्घाटन गरिने तयारी

प्रधानमन्त्रीको भारत भ्रमणमा जनकपुर–अयोध्या रेल सेवा उद्घाटन गरिने तयारी

जनकपुरधाम । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म सञ्चालन गर्ने तयारी गरिएको विशेष रेल सेवाको बिहीबार परीक्षण गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने तयारी गरिएको छ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार डब्ल्युडीपी ४ डी ४०४०३ नम्बरको दुई इन्जिन र सात बोगी रहेको भारतीय विशेष रेलमार्फत भारतको अयोध्यादेखि धनुषाको कुर्थासम्म परीक्षण गरिएको हो।

“प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा उक्त विशेष रेल सेवाको उद्घाटन गर्ने गरी हामी तयारीमा जुटेका छौँ”, पराजुलीले भने, “यही तयारीस्वरूप भारतीय रेल्वे कम्पनीका प्रतिनिधि तथा प्राविधिकसहितको टोलीले रेल सेवाको परीक्षण गरेको हो।”

उनका अनुसार अयोध्याबाट बिहान ९ बजे जनकपुरधाम हुँदै कुर्था पुगेको परीक्षण रेल बिहान ११ बजे पुनः जनकपुरधाम आइपुगेको थियो।

परीक्षण टोली र नेपाल रेल्वे कम्पनीका पदाधिकारीबीच अयोध्या–जनकपुरधाम नियमित विशेष रेल सेवा सञ्चालनका विषयमा छलफल भइरहेको पराजुलीले जानकारी दिए। छलफलपछि उक्त रेल बिहीबार नै अयोध्या फर्किने जनाइएको छ।

रेल सेवा उद्घाटनको मिति तय भइनसके पनि प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उद्घाटन गर्ने तयारी भइरहेको उनले बताए। प्रधानमन्त्री शाहले यही मङ्सिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारी छ।

पराजुलीका अनुसार नेपालतर्फको रेलखण्डमा नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेलको सुरक्षाको जिम्मेवारी लिने विषयमा समेत सैद्धान्तिक सहमति भएको छ। केही दिनअघि नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनका अधिकारीहरूको टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षण गरेको थियो।

जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनमा आएपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्या प्रत्यक्ष रेल सेवामार्फत जोडिएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन सहज हुने विश्वास गरिएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जितेन्द्र महासेठले बताए।

विशेष रेल सेवा सञ्चालनले नेपाल र भारतका धार्मिक तथा सांस्कृतिक गन्तव्यबीच पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउनसमेत सहयोग पुग्ने महासेठको भनाइ छ।

हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!