प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित, विभिन्न विधेयकमाथि सैद्धान्तिक छलफल

प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित, विभिन्न विधेयकमाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठक विभिन्न विधेयक पेस तथा तिनमाथि सैद्धान्तिक छलफल गर्दै बुधबारसम्मका लागि स्थगित भएको छ।

बैठकमा केही विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।

मंगलबारको बैठकमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ र ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ पेस भएका थिए। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ पेस गरेकी थिइन्।

उक्त विधेयकमाथि सैद्धान्तिक छलफलपछि विचार गरियोस् भन्ने प्रस्ताव सदनबाट पारित भएको छ।

त्यसैगरी, बैठकले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ। सरकारले विभिन्न कानुनी व्यवस्थालाई पुनः सक्रिय र व्यवस्थित गर्ने उद्देश्यले उक्त विधेयक ल्याएको हो। विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले विभिन्न विषयमा प्रश्न तथा चासो व्यक्त गरेका थिए।

बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पनि पेस गरिन्।

प्रतिवेदन पेस गर्दै सभापति शेरचनले विधेयकमाथि समितिमा भएको छलफल तथा समितिले गरेका परिमार्जनबारे सदनलाई जानकारी गराएकी थिइन्।

विभिन्न विधेयक पेस तथा तिनमाथिको प्रक्रिया अघि बढाउनुका साथै महत्त्वपूर्ण समितिगत प्रतिवेदन पेस भएपछि प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।

लिङ्क सफलतापूर्वक कापि गरियो!