काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दुईमहिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु हुने भएको छ। अभियानको उद्घाटन दिउँसो २ः३० बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनमार्फत गरिने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन्।
ज्वालाका अनुसार कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ।
असोज २३ गते बसेको पार्टीको केन्द्रीय संयोजन समिति बैठकले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। अभियानका क्रममा आगामी स्थानीय तह निर्वाचनअघि वडा तथा पालिका अधिवेशनसमेत गर्ने निर्णय गरिएको छ।
पार्टीले राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, जनजीविकाका सवालको सम्बोधन तथा पार्टी समायोजन, सदस्यता नवीकरण र सङ्गठन सुदृढीकरणलाई अभियानको मुख्य उद्देश्य बनाएको छ।
अभियानका प्रमुख कार्यक्रम
अभियानअन्तर्गत पार्टीका विभिन्न समिति तथा जनवर्गीय र मोर्चा सङ्गठनहरूको समायोजनको बाँकी काम सम्पन्न गरिनेछ। साथै, सङ्गठित सदस्यता नवीकरण तथा विस्तार अभियानलाई तीव्रता दिइने पार्टीले जनाएको छ।
पार्टीका बैठक, भेला तथा प्रशिक्षण सञ्चालन गर्नुका साथै जनता र पार्टीबीचको सम्बन्ध प्रगाढ बनाउन जनकेन्द्रित कार्यक्रमहरू आयोजना गरिनेछन्। सांस्कृतिकलगायत रचनात्मक कार्यक्रममार्फत पनि जनसहभागिता बढाउने योजना छ।
त्यसैगरी, जनताका माग तथा दैनिक जनजीविकासँग सम्बन्धित समस्याहरू सङ्कलन गरी सम्बन्धित निकायमा पेस गर्ने र तिनको कार्यान्वयनका लागि पहल गरिनेछ। श्रम तथा जनसेवाका कार्यक्रम सञ्चालन गर्नुका साथै विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका कार्यमा सहयोग गरिने पार्टीले जनाएको छ।
अभियानका क्रममा राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, सुशासन र जनजीविकाका विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा तथा जनताका अन्य समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराइनेछ।
यी विषयमा केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री तथा सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारी वा अन्य सम्बन्धित निकायसमक्ष मागपत्र तथा ज्ञापनपत्र पेस गर्ने कार्यक्रमसमेत रहेको पार्टीले जनाएको छ।