देउवा समूहको कांग्रेस महाधिवेशन खुलामञ्चमा हुने, तीन स्थान बुक

देउवा समूहको कांग्रेस महाधिवेशन खुलामञ्चमा हुने, तीन स्थान बुक

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म हुने १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने निर्णय गरेको छ । महाधिवेशनको तयारी तीव्र पारेको यस समूहले कार्यक्रम सञ्चालनका लागि काठमाडौंका विभिन्न स्थान बुक गरिसकेको छ ।

देउवा समूहद्वारा गठित केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीका अनुसार महाधिवेशनका लागि खुलामञ्चसँगै राष्ट्रियसभा गृह र भृकुटीमण्डप पनि बुक गरिएको छ ।

निर्धारित कार्ययोजनाअनुसार महाधिवेशनको उद्घाटन समारोह, बन्दसत्र तथा केन्द्रीय सदस्य पदका लागि मतदान खुलामञ्चमा हुनेछ । त्यस्तै, पदाधिकारी चयनका लागि राष्ट्रियसभा गृहमा मतदानको व्यवस्था मिलाइएको छ ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको खानपान व्यवस्थापन सहज बनाउन भृकुटीमण्डप परिसर बुक गरिएको सदस्यसचिव कार्कीले जानकारी दिएका छन् ।

निर्वाचन समितिको कार्यतालिकाअनुसार देउवा समूहले गत असोज १५ गतेदेखि नै वडा अधिवेशनको प्रक्रिया सुरु गरिसकेको छ । त्यस्तै, आगामी कात्तिक १५ गतेभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने मिति तय गरिएको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!