काठमाडौं । सरकारले सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा प्रवाहमा सुधारलाई प्राथमिकता दिँदै निर्धारित लक्ष्यअनुसार काम अघि बढाएको जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक प्रगति विवरणअनुसार पहिलो तीन महिनामा मन्त्रिपरिषद्का १६ वटा बैठक सम्पन्न भएका छन्। ती बैठकबाट ४२१ वटा निर्णय भएका छन्।
सरकारले शासकीय सुधारका लागि तय गरेका १०० कार्यसूची कार्यान्वयन गर्न मन्त्रालय तथा सम्बन्धित निकायसँग समन्वय, नियमित प्रगति समीक्षा र आवश्यक निर्देशन दिने कामसमेत अघि बढाएको छ।
यस अवधिमा नेपाल सरकारका सचिवहरूको चारवटा बैठक बसेका छन्। ती बैठकबाट भएका निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइनुका साथै निरन्तर अनुगमन भइरहेको कार्यालयले जनाएको छ।
सार्वजनिक सेवा प्रवाहमा हुने अनियमितता र ढिलासुस्ती अन्त्य गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयहरूमा पारदर्शी निर्णय प्रक्रिया अवलम्बन गर्न, सेवा प्रवाहलाई सरल बनाउन तथा सहायता कक्ष सञ्चालन गर्न निर्देशन दिइएको विवरणमा उल्लेख छ।