काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकाल्दै चार उच्च अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।
आयोगले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, नेपाल प्रहरीका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा हालका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्व अधिकारी, प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहोरा र सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) शैलेन्द्र श्रेष्ठमाथि विभागीय कारबाही गर्न सिफारिस गरेको जनाएको छ।
नेपालको संविधानको धारा २४९ को उपधारा (२) को खण्ड (ख) बमोजिम आयोगले उनीहरूले आफ्नो तोकिएको जिम्मेवारी तथा सुरक्षा कमान्ड प्रभावकारी रूपमा सम्हाल्न नसकेको निष्कर्ष निकालेको हो।
आयोगले उक्त निष्कर्षका आधारमा सम्बन्धित निकायलाई चारै जना अधिकारीमाथि विभागीय कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिस गरेको जनाएको छ।