डिला संग्रौला बनिन् नेपाली कांग्रेसको इतिहासमै पहिलो महिला महामन्त्री

डिला संग्रौला बनिन् नेपाली कांग्रेसको इतिहासमै पहिलो महिला महामन्त्री

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनबाट डिला संग्रौला केन्द्रीय महामन्त्री (महिला) पदमा निर्वाचित भएकी छन्। उनी नेपाली कांग्रेसको इतिहासमै पहिलो महिला महामन्त्री बनेकी हुन्।

महामन्त्रीमा निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै संग्रौलाले खुसी व्यक्त गर्नुका साथै थप जिम्मेवारी बोध भएको बताइन्। उनले नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउँदै नयाँ बाटोमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

युवा पुस्ताको चाहनाबारे बोल्दै उनले अहिलेको पुस्ताको अपेक्षाअनुसार पार्टीलाई रूपान्तरण गर्ने अभियानमा आफू प्रतिबद्ध भएर लाग्ने बताइन्।

पहिलो महिला महामन्त्री बन्न सफल भएको विषयलाई उनले समग्र महिलाको सम्मान र योगदानका रूपमा व्याख्या गरिन्। नेपाल महिला संघमा लामो समय काम गरेको स्मरण गर्दै उनले आफूलाई मतदान गर्ने महिला मतदाताप्रति आभार व्यक्त गरिन्।

उनले भनिन्, “दिदीबहिनीहरू सबैले मत दिनुभएको छ, यो उहाँहरूकै गौरव हो।”

संग्रौलाले पार्टीभित्र आफ्नो भूमिका थप सशक्त हुने विश्वास व्यक्त गर्दै विगतमा महिला संघको अध्यक्षका रूपमा जिम्मेवारी निर्वाह गरेको र पार्टीका विभिन्न पद तथा निकायमा काम गरेको अनुभव सुनाइन्।

उनका अनुसार उनले सहमहामन्त्रीका रूपमा समेत आठ महिना काम गरिसकेकी छन्। आगामी दिनमा पार्टीका योजना र कार्यक्रमअनुसार आफूलाई समर्पित गर्दै जिम्मेवारी पूरा गर्ने उनले बताइन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!