गृहमन्त्रीको राजीनामा माग्दै गोरखामा प्रदर्शन भएको समाचार भ्रामक : जिल्ला प्रशासन

गृहमन्त्रीको राजीनामा माग्दै गोरखामा प्रदर्शन भएको समाचार भ्रामक : जिल्ला प्रशासन

गोरखा । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै गोरखा सदरमुकाममा प्रदर्शन भएको भन्ने समाचारप्रति जिल्ला प्रशासन कार्यालय गोरखाले आपत्ति जनाएको छ।

सामाजिक सञ्जालमा प्रदर्शन भएको दाबीसहितका समाचार तथा भिडियो सार्वजनिक भएपछि प्रशासनले त्यसको खण्डन गरेको हो।

कार्यालयका अनुसार कात्तिक १४ र १५ गते भएको गृहमन्त्रीको दुईदिने जिल्ला भ्रमण शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। भ्रमणका क्रममा कुनै अप्रिय घटना नभएको र कार्यक्रम त्रुटिरहित रूपमा सम्पन्न भएको प्रशासनले स्पष्ट पारेको छ।

प्रदर्शन भएको दाबीसहित अवास्तविक भिडियो फुटेजसमेत प्रसारण गरिएको भन्दै प्रशासनले त्यस्ता समाचार भ्रामक, कपोलकल्पित र आधारहीन रहेको जनाएको छ।

साथै, प्रशासनले कुनै पनि सूचना तथा समाचार सम्प्रेषण गर्नुअघि तथ्य जाँच गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

 
 
 
लिङ्क सफलतापूर्वक कापि गरियो!