ललितपुर । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापाविरुद्ध सरकारले कुनै पनि प्रतिशोधपूर्ण वा अनुचित कदम चाले त्यसको कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन्।
ललितपुरको बज्रबाराहीमा आयोजित सरसफाइ तथा फूल रोप्ने कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री राणाले राजनीतिक पूर्वाग्रह राखेर सभापति थापामाथि धरपकड वा पक्राउ गर्ने प्रयास गरिए कांग्रेस चुप लागेर नबस्ने स्पष्ट पारे।
बिचौलिया भनिएका व्यक्तिहरूको बयान वा कृत्रिम आधार खडा गरेर सभापति थापालाई फसाउने षड्यन्त्र भइरहेको उनको दाबी थियो। यस्ता गैरकानुनी र स्वेच्छाचारी गतिविधि कांग्रेसलाई स्वीकार्य नहुने उनले बताए।
सरकारको प्रतिशोधपूर्ण व्यवहारविरुद्ध डटेर मुकाबिला गर्न उनले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई तयार रहनसमेत आह्वान गरे।
पछिल्लो राजनीतिक घटनाक्रम र विभिन्न प्रकरणमा सरकारले चालेका कदमप्रति टिप्पणी गर्दै महामन्त्री राणाले न्यायपालिका तथा राजनीतिक नेतृत्वमाथि भइरहेको हस्तक्षेपका कारण मुलुकमा अस्थिरता बढ्दै गएको आरोप लगाए।
उनले राजनीतिक प्रतिशोधका आधारमा कसैलाई लक्षित गर्ने नभई कानुनी शासन र निष्पक्ष प्रक्रियाको पालना गर्न सरकारलाई सचेत गराएका छन्।